काठमाडौं– सरकारले बाहिरी चक्रपथका लागि आवश्यक जग्गा तत्काल अधिग्रहण गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणका लागि जग्गा तत्काल अधिग्रहण गरी काम थाल्ने निर्णय गरेको कानुनमन्त्री शेरबहादुर तामाङले बताए।
चक्रपथका लागि पहिलो विकल्प ल्याड पुलिङ प्रविधि हुने त्यसका लागि र उक्त प्रविधि बाहेक अन्यका लागि चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण कार्य सुरु हुने उनले नेपाल लाइभलाई बताए।
सरकारले १२ वर्षअघि उपत्यकामा बाहिरी चक्रपथ बनाउने निर्णय गरेको थियो। बाहिरी चक्रपथ निर्माणका लागि करिब ६ अर्ब ३६ करोड लाग्ने अनुमान गरिएको छ।
कस्तो बन्छ बाहिरी चक्रपथ?
७२ किलोमिटर लम्बाइको परिकल्पना गरिएको बाहिरी चक्रपथ काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किलोमिटर र भक्तपुरमा २१.०५ किलोमिटर क्षेत्र ओगट्ने बाहिरी चक्रपथ आयोजनाले जनाएको छ। चक्रपथमा झन्डै ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित बस्ती विकास गर्ने योजना समेत रहेको छ।
आठ लेनको बन्ने सडकको मध्य भाग राजमार्गका लागि छुट्याइएको छ भने त्यसको दायाँ-बायाँ भागमा स्थानीय रुटमा चल्ने सवारी साधन गुड्नेछन्। साइकल ट्र्याकका लागि समेत पर्याप्त ठाउँ छुट्याइएको छ। ५० मिटर चौडाइ रहने सडकमा लेन विभाजन गरिएका हरेक स्थानमा आकर्षक 'ग्रिन बेल्ट' पनि हुने जनाइएको छ।
बाहिरी चक्रपथमा काठमाडौं जिल्लामा चोभार, मच्छेगाउँ, सतुङ्गुल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुनडाँडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल, नयाँपाटी र थलीडाँछी क्षेत्र समेटिनेछ। त्यस्तै, भक्तपुरमा चाँगुनारायण, दुवाकोट, झौखेल, बागेश्वरी, सुडाल, कटुन्जे, नयाँ ठिमीबाट दधिकोट र सिरुटार समेट्नेछ भने ललितपुरमा लुभु, सिद्धिपुर, ठैव, धापाखेल, ठेचो, छम्पी, खोकना र बुङ्मती हुँदै चोभारसम्म पुगेर टुंगिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।