काठमाडौं- नेपाली फुटबलमा पहिलो पटक खेल मिलेमतो (म्याच फिक्सिङ) को आरोप लागेर आफ्नो खेल जीवनको उत्कृष्ट समय गुमाएका खेलाडी सागर थापाले प्रश्न गरेका छन्- ‘मैले खेल गुमाउनु परेको ६ वर्ष कसले फिर्ता गर्छ?’
खेल मिलेमतोको गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक फिजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट मंगलबार सफाइ पाएका हुन्। सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसला नै सदर गरेको हो।
न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो।
राज्यविरुद्धको अपराधको मुद्दाबाट सफाइ पाएपछि नेपाल लाइभसँग कुरा गर्दै सागर भन्छन्- ‘नगरेको अपराधबाट सफाइ पाउँछौँ भन्ने त थाहा थियो। तर यो गम्भीर दाग लगाएर हामीलाई खेलबाट यत्रो वर्ष बाहिर राखिदिएका छन्। मेरो ६ वर्ष कसले फिर्ता गर्छ?’
‘हामीले खेलिरहेको समयमा नभएको त्यस्तो आरोपले देशभर नै गलत सन्देश गयो। एन्फाले पनि केही सोचेन। अब त एन्फाले केही सोच्ला कि। हामी अपराधि होइनौँ भन्ने त प्रमाणित भयो अब त्यसको मूल्याकंन कसले गर्ने? जीन्दगी नै वरवाद भयो नि’ सागरले भने।
उनीहरुलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो।
विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई ठहर गर्ने आधार नभेटिएको भन्दै सफाइ दिने फैसला सुनाएको थियो। २०७२ कात्तिक २२ गते उक्त मुद्दा विशेषमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको थियो।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।
यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो। उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो। तर अदालतमा यी कुराले राज्यविरुद्धको अपराध पुष्टि हुन नसकेपछि सफाइ दिएको हो।
तत्कालिन समय राष्ट्रिय टिमका कप्तानसमेत रहेका थापा भन्छन्- ‘कसैको व्यक्तिगत स्वार्थमा गम्भीर आरोप लगाउने काम राम्रो होइन। अब हामी कसरी अगाडि बढ्ने त केही सोच्न सकेको छैन। अब दिमागमा एउटै कुरा छ खेर गएको समय कसले जिम्मेवारी लिने हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।