काठमाडौं- सहरमा पैदल यात्रु पनि हुन्छन् भन्ने उपत्यकामा सडक बनाउनेहरूलाई थाहा छैन। सडक छेउमा घर हुनेलाई थाहा छैन। छेउकै सटरमा व्यापार चलाइरहेकालाई पनि थाहा छैन। मनपरि सवारी पार्किङ गर्नेलाई थाहा छैन। तर, देशको कानुनलाई थाहा छ। तर, कानुन मान्नुपर्ने विषय हो भन्ने कसैलाई वास्ता छैन।
सडकपेटीमा हिँड्दा-हिँड्दै ठोक्किने घरको भित्तो, हिँड्ने बाटो ओगटेका पसलका सामान, निर्माण सामग्रीको थुप्रो, मोटरसाइकल र कार पार्किङ, सडक पेटीबीचका पोल र खाल्डा हेर्न काठमाडौंका जुन सडक पुगे पनि हुन्छ। सिंहदरबार गेटदेखि भद्रकालीसम्म मात्र काठमाडौं त होइन होला नै!
पुराना सडक त पुराना भइगए, पछि मर्मत गरिएका र नयाँ बनाइएकै सडकमा पनि पैदलयात्रुलाई सहज हुने सडकपेटी छैनन्। कानुनले भनेजस्तो अपाङ्गतामैत्री सडकपेटी त ‘लेखिदिने’ विषय मात्र भइरहेको छ। पैदल यात्रुको बेवास्ता यति छ कि गाडी नचढी हिँड्ने पनि मान्छे हुन्छन् र! भनेजस्तो देखिन्छ। त्यसमा सबैभन्दा मारमा पर्छन् अपाङ्गता भएका व्यक्ति।
हिँड्दाहिँड्दै ढलमा खस्छन् अपांगता भएकाहरू
अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ मा ‘सबै सार्वजनिक सडक अपाङ्गता भएका व्यक्तिको सहज र समान आवागमनको लागि पहुँचयुक्त बनाउनु पर्नेछ’ भन्ने व्यवस्था छ। तर त्यसको पालना भइरहेको छैन। अपाङ्गता भएका व्यक्तिका लागि केही सहज हुने सडक पेटी पनि अनावश्यक सामानले ओगटिएका हुन्छन्।
कानुनमा स्पष्ट रुपमा ‘नयाँ बन्ने सम्पूर्ण सडकहरू ह्विलचेयर प्रयोगकर्ता, बैसाखी प्रयोगकर्ता, कृत्रिम अंग प्रयोग गर्ने व्यक्ति, दृष्टिविहिन, होचा पुड्का लगायत अपाङ्गता भएका व्यक्तिको आवागमनको लागि पूर्णतया पहुँचयुक्त बनाउनु पर्नेछ र पुराना सडकहरुमा विद्यमान रहेका अपाङ्गता भएका व्यक्तिको आवागमनमा अवरोध पुर्याउने सबै किसिमका अप्ठ्यारालाई हटाइनु पर्नेछ’ भन्ने उल्लेख छ।
सहरी सडक मापदण्ड २०७६, मा पनि फरक उमेर समूह र फरक क्षमता भएका सबैका लागि उपयुक्त फुटपाथ हुनुपर्ने विषय समावेश गरिएको छ। जसमा अपाङ्गतामैत्री हुनुपर्ने विषयसँगै सहरी क्षेत्रमा फुटपाथको चौडाइ कम्तिमा दुई मिटरको हुनैपर्ने उल्लेख छ। फुटपाथको आकार कति पैदल यात्री हिँड्ने बाटो हो भन्ने आधारमा चार मिटरसम्मको मापदण्ड बनाइएको देखिन्छ।
नेपाल नेत्रहीन संघका कार्यकारी निर्देशक नरबहादुर लिम्बू अपाङ्गतामैत्री सडक पेटी नहुँदा काठमाडौंमा दृष्टिविहीनले दुःख भोगेको धेरै कथा रहेको सुनाउँछन्। ‘खराब सडकपेटीले भोगेका दुःखका अनुभव त सबैजसोका छन्। हिँड्दा केहीमा ठोक्किएर लडेको र ढलमा परेको अवस्था पनि छ, ट्रयाक टायल पछ्याउँदै जाँदा पोलमा ठोक्किएका घटनासमेत छन्,’ उनले सुनाए।
कानुनमा उल्लेख गरिएका मापदण्ड खोजेर सडक हेर्न जाने हो भने दिक्दार हुनुको विकल्प हुन्न। भएकै सडकपेटीमा निर्वाध आवतजावत गर्न पाइए हुन्थ्यो भन्ने धेरैलाई लाग्छ। अनि लाग्छ, ह्विलचेयरमैत्री सडक पेटी र दृष्टिविहीनका लागि बनाइएको ‘गाइडिङ ब्लक’ राखिएका सडकपेटी मात्र अरुले नओगटिदिए हुने।
उपत्यकामा धेरै सडकपेटी अपाङ्गतामैत्री बनाउने प्रयास भइरहेको भएपनि त्यो वैज्ञानिक हुन नसकेको नरबहादुर बताउँछन्। ‘राम्ररी प्रयोग गर्न सकिने सडक पेटी छैनन्। पेटी मात्र ठीक भएर पनि भएन, सबै ओगटिएका हुन्छन्। पेटी खण्डीकृत हुँदा पनि अप्ठ्यारो छ। कतै पोल, कतै ट्रयाक झिकिएका हुन्छन्, त्यसले समस्या भइरहेको हुन्छ,’ उनले भने।
ठोक्किन आइपुग्छन् बिजुलीका पोल र सवारी
पछिल्लो समय दृष्टिविहीनका लागि सहज होस् भन्ने हेतुले ‘गाइडिङ ब्लक’ राखेर सडक पेटीको निर्माण भइरहेको देखिन्छ। तर, त्यसरी ‘गाइडिङ ब्लक’ राखिएको स्थानमा मोटरसाइकल पार्किङ गर्ने, बीचमा बिजुलीको पोल पारेर ‘गाइडिङ ब्लक’ राखिने, हिँड्दाहिँड्दै बाटो टुंगिने साथै ‘गाइडिङ ब्लक’मा नै अवरोध हुने गरी घरको भर्याङ राखिएको समेत देखिन्छ।
दृष्टिविहीनलाई हिँड्न सहज होस् भनेर राखिएको ‘गाइडिङ ब्लक’ नै अवरोध गरेर घरको भर्याङ हाल्नसक्ने आँट देख्दा आफूबाहेक अरुको विचार नहुने यो सहरको रवैया बुझ्न बडो गाह्रो छ।
ढल्पामा जस्तै कीर्तिपुरकै खाःसी बजारमा त महानगरीय ट्राफिक प्रहरी प्रभाग उक्लने सिँढीले नै दृष्टिविहीनका लागि राखिएको ‘गाइडिङ ब्लक’मा अवरोध भएको देखिन्छ। ‘गाइडिङ ब्लक’ पछ्याउँदै जाँदा त्यो सकिएको र फरक स्वरुपको बाटो आएको महसुस गर्न सकिने गरी संकेत राखिनुपर्नेमा त्यस्तो पनि देखिँदैन।
यस्तै महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि नै सडक पेटी छोपिने गरी ठूलो ट्यांकी जडान गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी र माच्छापुच्छ्रे बैंक लिमिटेडले जनस्वास्थ्यका लागि संयुक्त प्रयास भनेर कोरोनाको समयमा राखिएको ट्यांकीमा न अहिले पानी छ न धारो नै। तर, त्यसले सडक पेटीमा हिँडिरहेका पैदल यात्रुलाई सडकमा झरेर हिँड्नुपर्ने बाध्यता बनाइरहेको छ।
सडक पेटीको यस्तो अवस्थाले आफूहरुको अधिकार हनन भइरहेको स्पाइनल कर्ड इन्जुरी समूह नेपालका अध्यक्ष ऋषि ढकाल बताउँछन्। पछिल्लो समय अपाङ्गतामैत्री भनेर बनाइएको सडक पेटी पनि मापदण्डअनुरुप नभएकाले भत्काएर फेरि बनाउनु पर्ने स्थिति देखिएको उनले सुनाए।
‘सार्वजनिक संरचना अपाङ्गतामैत्री हुनुपर्छ भनिएको छ, केही ठाउँमा बनाउन सुरु पनि भएको छ, तर एकजना पनि अट्न मुस्किल हुने फुटपाथमा ह्विलचेयर त कसरी लानु? बीचमा असहज पोल, कतै भत्केको नै हुन्छ। नारायणटारमा ह्विलचेयरमैत्री सडकपेटी बनाउने र देशभर नमूनाको रुपमा देखाउने भनेर प्रयास गरिएको हो तर त्यसमा ढिलो भइरहेको छ’, उनले भने।
धेरै स्थानमा त सडक जति नै चौडा पारिए पनि पैदल यात्रुलाई हिँड्न पुग्ने गरीसमेत बाटो छाडिएको छैन। सडकपेटीमा लत्रिएका तारको हविगत उस्तै छ।
हिँड्दाहिँड्दै सडकपेटी टुंगिएर सडकमा नै झर्नुपर्ने बाध्यता पनि छ। जसले सवारीसाधनमा रहेकालाई पैदल यात्रु देखेर दिक्क लाग्छ। पैदल यात्रुलाई अनावश्यक हर्न हानिरहेका सवारी चालक देखेर दिक्क लाग्छ।
‘गाइडिङ ब्लक’ नै अवरोध गरेर घरको भर्याङ राखिएका यी दृश्य प्रतिनिधि मात्र हुन्। यस्तै अरु धेरै स्थानमा सडकपेटीको विजोग हविगत देखिन्छ। यो अपाङ्गता भएका व्यक्तिप्रतिको हेपाहा सोच हो या बुझेर पनि अबुझ बन्ने सहरी बानी हो, जे भए पनि त्यो साह्रै नराम्रो देखिन्छ। यस्तै धेरै तस्बिर केही दिनयता सामाजिक सञ्जालमा खुब फैलिएका छन्। जहाँ धेरैले प्रश्न गरेका छन्, ‘यो के गरेको?’
थप भिडियो र तस्बिरमा (तस्बिर/भिडियो : निमेषजंग राई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।