विराटनगर– सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन्।
करिब २ महिना लामो अनुसन्धानपछि चौधरीको हत्या योजनाबद्ध रुपमा भएको निष्कर्षमा प्रहरी पुगेको छ ।
दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको असोज २५ गते साँझ करिब साढे ५ बजे रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा सिटी सफारी चलाइरहेका बेला उनको गोली हानी हत्या भएको थियो। हत्यामा संलग्न आरोपमा सुटरसहित ७ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। हत्याका मुख्य योजनाकार समेत पक्राउ परेका छन्।
अनुसन्धानका क्रममा हत्याको मुख्य कारण तन्त्रमन्त्र र टुनामुना नै देखिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सुनसरी रामधुनी नगरपालिका १ झुम्काका ४३ वर्षीय राजु भन्ने राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरी राजविराज नगरपालिका– १६ का २८ वर्षीय अंकित साह र सोही पालिकाको वडा नम्बर ९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज गाउँपालिका–५ का २५ वर्षीय मिथलेश यादव पक्राउ परेका हुन् ।
। पक्राउ परेका मुख्य योजनाकारहरू रामधुनी–१ झुम्काका दाजुभाइ राजकिशोर साह (राजेश) र नन्दकिशोर साह हुन् ।चौधरीको हत्या गर्न राजेशले ६ लाख ५० हजार रूपैयाँ सुपारी दिएर सुटर मोहम्मदलाई प्रयोग गरेका थिए। उनले ३ लाख रूपैयाँ समेत पेश्की लगेको पाइएको छ।
उनीहरूले मृतक चौधरीले लामो समयदेखि ‘तन्त्रमन्त्र’ र ‘टुनामुना’ गरी आफ्नो परिवारका सदस्यहरूलाई बिरामी बनाएको र दुःख हैरानी दिएको अन्धविश्वास पालेका थिए । यही रिसिवीका कारण चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।