काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली खेलकुदप्रेमी हुन्। रेस्लिङदेखि स्वीमिङसम्मका पारखी देखिने ओलीलाई क्रिकेट र फुटबल मन नपर्ने कुरै भएन। मौकामा चौका हान्न र राजनीतिमा आइपर्ने ‘पेनाल्टी’को सदुपयोग गर्न उनले खेलकुदबाटै सिकेको हुनुपर्छ।
सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराउँदै विश्वकप छनोट तयारीका लागि मैत्रीपूर्ण खेलका रुपमा अथ्र्याइएको ‘थ्री नेसन्स कप’ प्रतियोगिताको उपाधि जित्यो। पहिलो खेलमा कीर्गिस्तानको २३ वर्षमुनिको टिमसँग र दोस्रो खेलमा बंगलादेशसँग नै गोलरहित बराबरी खेलेको नेपालका लागि फाइनल खेल गोलको खडेरी तोड्न सफल बन्यो। विश्वकप छनोट अन्तर्गत २०१९ को सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध गरेको गोलपछि नेपाली टिमले सात खेलमा गोल गर्न सकेको थिएन।
दशरथ रंगशालामा सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेपछिको पहिलो उपाधिमा गोल गर्ने खेलाडीभन्दा बढी केन्द्रमा देखिए प्रधानमन्त्री ओली। खेलाडीलाई शुभकामना दिन मैदानमा जाँदा र रेफ्रीलाई ‘म्याच बल’ हस्तान्तरण गर्दादेखि नै हजारौँ दर्शकसहितको रंगशाला ‘ओलीमय’ बन्यो। नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको खेलमा लाखौँले घरबाटै प्रधानमन्त्रीको खेलप्रेम देखे।
तर प्रधानमन्त्री ओली सुरक्षा संयन्त्रको ठूलो संख्या र उनलाई पछ्याइरहेका केही आसेपासेसहित मैदानभित्र जानु फुटबलमा शोभनीय देखिएन। खेलकुदमा खेलाडीसँगको परिचयमा अतिथिबाहेक त्यसरी भिडभाड गरिने अभ्यास सायदै कतै छ। नेपालमा नै पनि यस्तो दृश्य पहिलोपटक देखिएकाले असुहाउँदो देखियो। आखिर खेलाडीका अघि पनि सेक्युरिटीले घेरिनुपर्ने गरी ‘लोकप्रिय’ प्रधानमन्त्री असुरक्षित छन् जस्तो लाग्दैन।
पुरस्कार समारोह सकिएपछि खेलाडीलाई पुनः बधाई दिन मैदानमा गएका प्रधानमन्त्री ओलीलाई ‘माया गरेर’ सबै खेलाडीले ‘केपी वा वी लभ यु’ को नारा नै घन्काए। तीनै खेलाडीका अघि प्रधानमन्त्री जाँदाको बाक्लो सुरक्षा घेरा असुहाउँदो लाग्ने नै भयो। प्रधानमन्त्री ओलीप्रतिको माया खेलाडीले ‘वी लभ यु’ को हुटिङमा कति राजनीतिक चेतका साथ लगाए त्यो खेलाडी नै जानुन्।
रंगशालामा फाइनल खेल हेर्न जानुअघि प्रधानमन्त्रीले आफू अध्यक्ष रहेको पार्टी नेकपा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई के कारबाही गरे, त्यसको राजनीतिक अर्थ के हो खेलाडी वास्ता गर्दैनन्। प्रधानमन्त्रीले पछिल्लो समय चालिरहेको कदम अग्रगमन हो या प्रतिगमन खेलाडी चिन्दैनन्। सामाजिक सञ्जालमार्फत आउने हँस्यौली भाषणमा जस्तो मात्र हो या ‘वी लभ यु’ भित्र उनको राजनीतिक कदम पनि बुझिएको हो खेलाडीलाई सोध्दा जवाफ सायदै आउँछ। तर यो सबैमा प्रधानमन्त्री ओली फुटबल खेलाडीबीच प्रिय हुन् भन्ने देखियो नै।
सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग खेल्दाको प्रसंगमा होस् या पौडीकी गौरिका सिंहसँग आफू पनि ‘स्वीमर’ रहेको बताउँदा होस् उनले आफ्नो खेलप्रेम देखाएर खेलाडीको मन जितेकै छन्। प्रधानमन्त्री ओली फुटबल त झनै कति प्रिय मान्छन् भन्ने जान्न १३औँ दक्षिण एसियाली खेलकुदमा पदक विजेताका लागि पुरस्कार घोषणाका बेला उनले गरेको एक सम्बोधन हेर्दा बुझिन्छ।
आफूले सागका बेला नेपालको फुटबल हेरेको र त्यसमा जस्तो खुसी र सन्तुष्टी अरु कुनै खेलमा नलागेको भन्दै उनले फुटबल खेल के हो भन्नेबारे समेत बताएका थिए। ‘म पनि युवा हुँदा फुटबल खेल्थेँ, फुटबल अत्यन्त फास्ट खेल्नुपर्ने खेल हो। फुटबलमा पहिलो कुरा त मस्तिष्क, मसल, मुटु, फोक्सो सबै चिजको तालमेल चाहिन्छ। बल मात्रैले हुँदैन। किपर त जताबाट आए पनि समाउने चुम्बक जस्तो हुनुपर्छ’ उनले भनेका थिए।
‘हाम्रा खेलाडीमा कमि रहेनन् भन्ने होइन। बल हान्दाखेरी एकदमै एक्युरेसी चाहिन्छ। खेलाडीले अभ्यास बढाउनुपर्ने र एक्युरेसीमा पुग्नुपर्ने देखिन्छ। बल क्याचिङ गर्र्ने, पासिङ गर्ने, बल हान्दा पोस्टमा हानोस् या पास देओस् त्यसमा एक्युरेसी चाहिन्छ। पासमा अझ एक्युरेसी बढाउन ध्यान दिनुपर्छ। पास दिँदा साथी भएको ठाउँ, साथी दौडिएर पुग्ने ठाउँ, बल पुग्ने ठाउँ, दुरी र गति मिलाउनुपर्छ’, उनले भनेका थिए, ‘एक्युरेट समय, एक्युरेट डिस्ट्यान्स, एक्युरेड स्पिड यी चिजहरु अलिकति मिलाउन जरुरी छ। म सधैँ भनिरहेको हुन्थेँ कि हाम्रा खेलाडीको गति धिमा भयो, सुस्त भयो तर यसपटक त्यस्तो सुस्तता देखिएन।’
प्रधानमन्त्रीले सागमा सहभागी २३ वर्षमुनिको टिमको खेल हेरेर जे भनेका थिए त्यसको सुधार थ्री नेसन्स कपको फाइनलमा उनले खोजे नै होला। पासको ‘एक्युरेसी’ विशाल राईको गोलमा उनले पक्कै देखेको हुनुपर्छ। यसअर्थमा प्रधानमन्त्रीले पहिलेको जस्तै सन्तुष्टी र खुसी पाए नै। तर खेलाडीका अघि प्रधानमन्त्रीले आफ्नो खेलप्रेम जसरी देखाइरहेका छन्, उस्तो खेलप्रेम सरकारको काममा भने कमै देखिन्छ।
बजेटमा खेलकुदले पाउने कम प्राथमिकता र कोरोनाको ठूलो कहरपछि खेल क्षेत्र फर्काउन वेवास्ता भएको हेर्दा त्यो बुझिन्छ नै। खेलमा भविष्य नदेखेर विदेश पलायन हुने सयौँ खेलाडी र खेल्दा खेल्दै छाडेर अरु विकल्प खोज्ने नयाँ पुस्ताबारे सरकारले बुझेकै त होला। यसैले प्रधानमन्त्रीका लागि खेल साच्चैको प्रिय हो या मैदानबाट ‘राजनीतिक स्टन्ट’ मात्र दिन खोजेका हुन् त्यो खेल जगतले बुझ्ला नै।
सोमबार नेपालले जितेको ‘थ्री नेसन्स कप’ उतिसाह्रो उचालिनुपर्ने उपाधि होइन। प्रशिक्षक बालगोपाल महर्जनले भनेजस्तो नेपालका लागि यो एउटा अभ्यास खेल हो। विश्वकप छनोट खेलअघिको तयारी मात्रै। नेपाली टिमका लागि मैदानभित्रको अभ्यास र प्रशिक्षकका लागि केही नौलो प्रयोग। अब प्रधानमन्त्रीलाई घेरेर घुमिरहेका फुटबल पदाधिकारी फुटबलको माथिल्लो प्रतिस्पर्धाका लागि खेलाडी तयार पार्न र खेलाडीले खेलेरै बाँच्ने अवस्थाको खोजी गर्न लागिपर्लान् नै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।