डोउमा– रासायनिक हतियार प्रयोग भएको भनिएको सिरियाको डोउमामा अनुसन्धानका लागि पुगेको अर्गनाइजेसन एगेन्स्ट युज अफ केमिकल वेपन्स (ओपिसिडब्लु) को टोलीलाई स्विकृति प्रदान गरिएको छ।
अनुसन्धानका लागि गत शनिबारदेखि नै सो टोली सिरियामा पुगेको भएपनि अनुसन्धानका लागि स्विकृति दिइएको थिएन।
गत अप्रिल ७ मा भएको आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको भन्दै गत शनिबार अमेरिका, बेलायत र फ्रान्सले सिरियामा भण्डार गरि राखिएका रासायनिक अखाडाहरुमा आक्रमण गरेको थियो।
तर सिरिया तथा उसको प्रमुख सहयोगी रसियाले भने आक्रमणमा रासायनिक हतियार प्रयोग नगरेको दावी गर्दै आएका छन्।
सिरियाली राज्य सञ्चालित समाचार संस्थाले भने मंगलबारको बिहान पनि पश्चिमी शहर होम्समा सेनाले केही मिसाइल आक्रमणलाई निस्तेज पारेको बताएको छ। सो मिसाइल आक्रमण सेरात हवाई अड्डामा लक्षित गरी गराइएको तर कसले सो आक्रमण गर्यो भन्ने नखुलेको बताइएको छ।
उता राजधानी दमास्कसको डुमेर मिलिटरी विमानस्थलमा पनि ३ वटा मिसाइल प्रहार गरिएको तर सेनाले त्यसलाई पनि नष्ट गराएको रिपोर्टमा बताइएको छ।
तर पेन्टागनका प्रवक्ताले भने सो समयमा सो क्षेत्रमा आफुहरुले आक्रमणका कुनै पनि क्रियाकलाप नगरेको दावी गरेको छ।
अनुसन्धानका लागि पुगेको अन्तर्राष्ट्रिय टोलीले दमास्कसमा ३ दिनसम्म पर्खिनु परेको थियो। आक्रमण भएको ११ दिनपछि मात्रै टोली बुधबार मात्रै घटनास्थल पुग्न पाएका हुन्। विज्ञहरुको टोलीले सो क्षेत्रको माटो तथा अन्य वस्तुहरुको परिक्षण गरेर आक्रमणमा रासायनिक हतियार प्रयोग भए–नभएको अनुसन्धान गर्ने बताइएको छ।

अनुसन्धान टोलीका एक अमेरिकी सदस्यले भने सो क्षेत्रमा यसअघि नै रसियाली टोलीले अवलोकन गरिसकेकोले घटनाका तथ्यहरु मेटाइएको हुनसक्ने आशंका व्यक्त गरे।
तर अन्तर्वार्ताका क्रममा रसियाली विदेश मन्त्री सेर्गेई लाभरोभले भने सो आरोपको खण्डन गरेको बिबिसीले लेखेको छ। ‘सो क्षेत्रमा रसियाले कुनै पनि किसिमको हस्तक्षेप गरेको छैन।’, उनले भने, ‘अमेरिका, बेलायत र फ्रान्सले सामाजिक सञ्जाल र केहि मिडिया रिपोर्टको आधारमा मात्रै यस्तो आरोप लगाएका छन्, जुन सतही छ।’
यसअघि अनुसन्धानका लागि रोकेको भन्दै विदेश मन्त्री लाभारोभ, रसिया तथा सिरियाको समेत आलोचना गरिएको थियो।
तर, रसियाले भने पर्यवेक्षकहरुलाई रसायनिक हतियार प्रयोग भएको क्षेत्रमा प्रवेश नदिइएको कुराको खण्डन गरेकाे छ। उसले अमेरिकी नेतृत्वको कारबाहीका कारण ती पर्यवेक्षकले प्रवेश नपाएको पनि प्रस्ट पारेका छन्।
यता, सिरियाली समाचार संस्था सानाले सिरियाली उप–विदेशमन्त्री फैजल अल मोकददले ओपिसिडब्लुका पर्यवेक्षकसँग भेटवार्ता गरेको पुष्टि गरेको छ।
‘विज्ञहरुको टोली सिरियाली सरकारको निमन्त्रणामा पछिल्लो ३ दिनदेखि सिरिया छ। उनीहरुसँग सरकारी अधिकारीले दुई पक्षबीच सहकार्य र सहजीकरणको विषयमा छलफल गरेका छन्,’ सानाले अल मोकददलाई उदृत गर्दै आफ्नो समाचारमा लेखेको छ।
अप्रिल ७ मा के भएको थियो?
गत अप्रिल ७ मा रासानिक आक्रमण गरिएको भनिएको पूर्वी गोउटाको डोउमामा विद्रोहीहरुको अन्तिम गढमा हवाई आक्रमण चलिरहेको थियो। जहाँ महिनौंदेखि गाेलाबारी जारी थियो। अहिले भने सो क्षेत्र सिरियाली सरकार र रसियाली सेनाको पकडमा आइसकेको छ।

रिपोर्टका अनुसार सो दिनमा केहि घण्टाको अन्तरमा रासायनिक पदार्थ मिसाइएका २ वटा बमहरु खसालिएको बिबिसीले लेखेको छ। स्थानीय समयअनुसार दिनको १ बजे सादा बेकरीमा तथा बेलुका साढे ७ बजे मार्टियर्स स्क्वायरमा बम खसालिएको थियो।
सिरियाली स्वास्थ्य अधिकारीका अनुसार आक्रमणबाट प्रभावितहरुको मुखबाट फिँज आइरहेको, छालाको रंगमा परिवर्तन भएको तथा श्वासप्रश्वासमा कठिनाइ भएको बताएका थिए।
उता अमेरिकी स्रोतका अनुसार आक्रमणबाट घाइते भएकाहरुको रागत तथा पिसाब परीक्षण गर्दा क्लोरिन ग्यास तथा विषालु पदार्थ भेटिएको दावी गरेका थिए।
सो आक्रमणमा ७० भन्दा बढीले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।