थाइल्यान्ड– आफ्ना बाबुबाजेको भाषा, धर्म र संस्कृतिप्रतिको जरा भूगोलको कुनै कुनामा पुगे पनि हराउँदैन रहेछ। थाइल्यान्डमा रहेका नेपालीहरुले पितापुर्खाको भाषा संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि गरिरहेको कार्य देख्दा यस्तै लाग्छ।
दशकौंअघि पितापुर्खा नेपालबाट बाहिर गएर बसे पनि त्यसको संरक्षणमा अहिले पनि उनीहरुका सन्तान दरसन्तान लागिपरेका छन्।
आफ्ना सन्तानहरुले नेपाली भाषा, धर्म र संस्कृति बिर्सेलान् भनेर उनीहरुले विशेष अभियान नै सुरु गरेका छन्। यस्तै नेपाली मुलका मानिसमध्ये एक हुन्, बर्मामा जन्मेर थाइल्यान्डमा बसेका नेपालीहरु।
थाई नेपाल संघका नाममा उनीहरुले नेपाली भाषा, परम्परा र संस्कृतिका पुर्खाको चिनोको रुपमा जोगाउने कार्य विगत १० वर्षदेखि गर्दै आएका छन्। विगतका वर्षहरुमा आफूहरुमा मात्र सीमित भाषा र संस्कृति बचाउने अभियान हाल उनीहरुले विद्यालय शिक्षा लिइरहेका छोराछोरीमा समेत हस्तान्तरण गरेका छन्।

यस्तै अभियान थाई नेपाली संघले गत अप्रिल ७ देखि १५ अप्रिलसम्म चलाएको छ। एक सातासम्म उसले शिविर नै सञ्चालन गर्दै नेपाली संस्कृति आफ्ना सन्तानलाई हस्तान्तरण गरेका हुन्।
थाइल्यान्डमा रहेका युवा तथा विद्यार्थीका लागि लक्ष्य गरेर सुरु गरिएको व्यक्तित्व विकास निर्माण शिविर बैंककको छाइछ्याम्फेमा चलेको थियो। विभिन्न भागहरुबाट आएका करिब दुई सय युवा तथा विद्यार्थीहरुले सहभागिता जनाएका थिए।
शिविरमा सहभागीहरुले नेपालको मौलिक संस्कृति, पारिवारिक मूल्य मान्यता, समाज, धर्म संस्कृति, योगअभ्यास लगायतका दर्जनौं विषयमा जानकारी गराइएको थियो। घरदेखि पर एक सातासम्म शिविरमै राखेर उनीहरुलाई नेपाली संस्कृतिको बारेमा जानकारी गराइएको थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले बताए। ‘नेपाली भाषा, धर्म र शिक्षा नबिर्सिऊन् भन्ने हाम्रो मुख्य उद्देश्य थियो,’ कार्कीले भने, ‘बिहान ६ बजेदेखि राति अबेरसम्मका उनीहरुले नेपाली गीत र संस्कृतिमा रमाउँदै ग्रहण गरे।’

बर्मेली, अंग्रेजी र थाई भाषा मात्र बुझेका आफ्ना सन्ततीलाई पितृभूमि नेपाल मन र मुटुमा राख्न यस्तो कार्यक्रम यो वर्ष गरिएको उनले बताए। ‘शिविरमा नेपाली गीत गाउने, नाच्ने र मुख्य चाहिँ दोस्रो विश्वयुद्धका हाम्रा पुर्खाले खुकुरीको भरका कसरी युद्ध लडे भनेर सिकाउने कार्य हामीले यो शिविर मार्फत गरेका छौं,’ कार्कीले भने, ‘यी सबैको उद्देश्य नेपालप्रति माया र सम्मान दर्शाउने र पितृभूमि हो भन्ने सन्तानहरुलाई चेतना दिलाउने हो।’
साताव्यापी यो शिविरमा नेपाली संस्कृति र भाषा सिकाउन थाइल्यान्डका विभिन्न भागहरुबाट उनीहरुका अभिभावकले आफ्ना बालबच्चाहरु ल्याएका थिए। सहभागीमध्ये धेरैका लागि यो पहिलो अनुभव थियो। कहिल्यै घर नछाडेका बालबच्चाहरु गुरुकुल शैलीमा आवासीय शिविरमा सहभागी हुँदा निकै खुसी देखिन्थे।

शिविरमा सहभागी भएका बालबच्चाहरुले शिविर अवधिमा गरिएका क्रियाकलापहरुबाट नेपाली समाजको बारेमा पनि धेरै कुराहरु थाहा पाएका थिए। नेपाली जनजीवन र संस्कृति झल्काउने गीत संगीतहरुको प्रस्तुति, गोरखालीको हतियारको रुपमा रहेको खुकुरी नाच, योगका विभिन्न अभ्यासहरुमा सहभागीले सिकेका कुराहरुबाट अभिभावक अचम्ममा परेका थिए। समापन कार्यक्रमका अवसरमा उनीहरुले दर्जनौं प्रस्तुति देखाएका थिए।
शिविरमा नेपालबाट अतिथिको रुपमा सहभागी भएका डा. चिन्तामणि योगीले अभिभावक र बालबालिकाहरुलाई घरमा नेपाली भाषा प्रयोग गर्न सुझाए। योगीले बालबालिकाहरुले नेपाली भाषा संस्कृतिबाट धेरै कुरा सिक्न सक्ने भनाइ राखे।
शिविरमा युवा तथा बालबालिकाको स्मरणशक्तिका लागि गिनिज बुकमा नाम लेखाएका अर्पण शर्मा कट्टेलले स्मरण शक्ति बढाउन गरिनुपर्ने अभ्यास, आनीबानीमा गरिनुपर्ने सुधार र योग अभ्यासको बारेमा जानकारी गराएका थिए।

त्यस्तै अस्ट्रेलियाबाट आएका राजन शर्माले पनि व्यक्तिगत जीवन परिवर्तनका लागि गरिनुपर्ने व्यवहारबारे दिए।
शिक्षणका लागि बर्माबाट लक्ष्मण न्यौपाने सहितको टोली आएको थियो भने शिविरका लागि दर्जनौं स्वयंसेवक अहोरात्र खटिएका थिए। शिविर सञ्चालनका लागि डेविड खनाल, श्रीनारायण पाण्डे, राधिका खनाल, केशव आचार्यको टोलीले संयोजन गरेको थियो। संघका तर्फबाट महासचव विश्व धिताल र सचिव दीपक पराजुलीसहित शिक्षा र धार्मिक विभागका पदाधिकारीहरुले सहयोग गरेका थिए।

आफूले शिविरमा सिकेका कुराहरुलाई व्यवहारमा अपनाउन र घरपरिवारमा लागू गर्न सहभागी उत्प्रेरित हुने विश्वास थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले गरेका छन्।
शिविरका लागि नेपाली राजदूतावासले पनि सहकार्य गरेको थियो। नेपाल र नेपाली समाज संस्कृतिबारे गरिएको हाजिरी जवाफ प्रतियोगिताका विजयीहरुलाई नेपाली राजदूत डा. खगनाथ अधिकारीले पुरस्कार वितरण गरेका थिए।
संघले थाइल्यान्डमा विश्वविद्यालय स्तरमा अध्ययन गरिरहेका र स्नातक गरेकाहरुको सम्मेलन गर्नुका साथै उनीहरुको एउटा समितिसमेत निर्माण गरेको छ।

थाई नेपाली संघको आयोजनामा बैंककमा भएको यो तेस्रो शिविर हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।