भक्तपुर- बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेका छन्।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ।
कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौं मानिसका अगाडि वागश्रेष्ठको जिब्रो छेडेका हुन्।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महादीप बोकेर टोलटोल घुमेका वागश्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेका थिए।
जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर पोतेपछि जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गर्ने चलन छ। प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने वागश्रेष्ठले बताए।
परम्परादेखि चल्दैआएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको उनले बताए। यसअघि २०६२ देखि २०६५ सालसम्म चार वर्ष उनले निरन्तर जिब्रो छेडेका थिए।
‘विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेका थिए। त्यही वर्ष मैले जिब्रो छेडेँ। मेरो रोग निको भयो,' उनले भने, 'त्यसपछि रोजगारीका लागि दक्षिण कोरिया गएँ। उताबाट फर्किएपछि थिमिको कोरिया–नेपाल मैत्री अस्पतालमा निरन्तर एम्बुलेन्स चलाइरहेको छु।’
विसं २०६० सम्म उनकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेड्दै आएका थिए। उनले २०६१ देखि २०६४ सालसम्म जिब्रो छेडे। गतवर्ष पुनः जिब्रो छेडेका बुद्धकृष्णले यसवर्ष छैटौं पटक जिब्रो छेडेका हुन्।
जात्रा सञ्चालन गर्न मध्यपुरथिमि नगरपालिकाले रु १ लाख आर्थिक सहयोग गरेको छ।
तस्बिर : रमेश गिरी/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।