राजविराज– वर्षौंदेखि नेपाल–भारत व्यापारिक, पारिवारिक र मैत्री सम्बन्ध धान्दै आएको तिलाठीस्थित खाँडो खोलाको चचरी पुल (भाटे पुल) भत्किएपछि यतिबेला सर्वसाधारणको सीमापार यात्रा जोखिमपूर्ण बनेको छ। दैनिक २/३ सय मानिस वारपार गर्ने यो पुल बनाउनेतर्फ पहल हुन सकेको छैन।
तिलाठी र कुनौलीको बीचमा रहेको खाँडो खोला दुवै देशको सिमाना हो। यातायात तथा पैदल यात्राका लागि नदीको दुवैतर्फ सडक छन्, तर नदीमा हालसम्म पनि पक्की पुल बनेको छैन। पैदल यात्रीका लागि बनाइएको भाटे पुल पनि भत्किएपछि यतिबेला जोखिम मोलेर खोलाबाटै आवतजावत गर्नुपर्ने बाध्यता छ।
तिलाठी–कुनौली आवतजावतका लागि बनाइएको भाटेपुल पनि सरकारी स्तरबाट बनाएको होइन। वर्षौंअघि तिलाठी–कोइलाडी गाउँपालिकास्थित बेल्ही गाउँका जोखन रायले बनाएको पुलले हालसम्म दुई देशबीचको व्यापार, पारिवारिक सम्बन्ध र मित्रतालाई जोडेर राखेको छ।
नेपाल र भारतबीच वर्षौंदेखि मैत्रीपूर्ण सम्बन्ध छ। खुल्ला सीमाका कारण बिना रोकटोक एक देशका नागरिक अर्को देशमा आवतजावत गर्छन्। सप्तरीको तिलाठी, लौनियाँ, सकरपुरा, बेल्ही, कोइलाडी, रम्पुरा, लोखरम, लालापट्टी, राजविराज, हनुमाननगर, कल्याणपुर, रुपनीसहित अधिकांश क्षेत्रका मानिस बजार भर्नकै लागि कुनौली जाने गरेका छन्।
यति मात्र होइन, नेपाल र भारतीय क्षेत्रका नागरिकहरुबीच सराबरी बिहेबारी चल्छ। समान भाषा, भेषभूषा, संस्कार र संस्कृतिका कारण दुवै देशका नागरिकबीच पारिवारिक सम्बन्ध पनि छ। तर, त्यो सम्बन्ध धान्नका लागि सरकारले हालसम्म एउटा पुल पनि बनाउन नसकेको भन्दै दुवैतर्फका नागरिकहरु गुनासो गर्छन्।
‘दुई देशका नागरिकभन्दा पनि पहिला हामीबीच पारिवारिक नाता सम्बन्ध छ,’ बेल्हीका रामदेव यादव भन्छन्, ‘यसलाई आजसम्म न देशको सिमानाले रोकेको छ न त सरकारले।’ तर, रोटीबेटीको यो सम्बन्ध जोगाउन दुवै देशको सरकार संवेदनशील हुन नसकेको उनले आरोप लगाए।
छिन्नमस्ता गाउँपालिका १ का रामप्रसाद मण्डलले भने स्थानीय जनताको सहजताका लागि पुल निर्माण गर्ने विषयमा कुनै पनि देशको सरकारले सोच बनाउन नसकेको बताए। व्यापारिक दृष्टिकोणले पनि तिलाठी–कुनौली जोड्न मैत्री पुल आवश्यक रहेको भन्दै उनले थपे, 'तिलाठी–कुनौली वारपारका लागि अर्को कुनै वैकल्पिक बाटो छैन।’
भारतीय बजार कुनौलीका पञ्चम सिंहले पनि व्यापारिक, पारिवारिक र मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन खाँडो खोलामा पक्की पुलको आवश्यकता रहेको बताए। ‘खोलामा पुल नहुँदा नेपालतर्फ रहेका आफन्त भेटघाट गर्न पनि समस्या छ,’ उनले भने, ‘हामीले स्थानीय सरकारसँग पक्की पुलका लागि आवश्यक पहल गर्न माग पनि गरिरहेका छौं।’
भाटेपुल मर्मतका लागि भने यस वर्ष गाउँपालिकाबाट आर्थिक सहयोग गरिएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले बताए। व्यापार, व्यवसाय तथा मित्रताका हिसाबले पनि दुई देश जोड्ने पुल आवश्यक भएको उनी बताउँछन्।
‘सिमानाको कुरा भएकाले हामीले केही गर्न मिल्दैन तर, फागुन २१ र २२ गतेको गाउँपरिषद्को बैठकबाट पक्की पुल निर्माणका लागि संघीय सरकारसँग समन्वय गर्ने गरी निर्णय भएको छ,’ उनले भने।
तत्कालका लागि भाटेपुल मर्मत गर्न गाउँपालिकाले शुक्रबार मात्रै ५१ हजार रुपैयाँ रामचन्द्र रायलाई उपलब्ध गराएको उनले जानकारी दिए। रामचन्द्र जोखनका नाति हुन्।
वर्षौंअघिसम्म तिलाठी र आसपासका मानिसहरु डुंगामार्फत खाँडो खोला वारपार गर्थे। पछि स्थानीय जमिनदारहरुको सहयोगमा जोखनले खोलामा भाटेपुल बनाए। पुल प्रयोग गरेबापत उनले स्थानीयहरुबाट वार्षिक रुपमा निश्चित परिमाणमा धान लिन्थे, जसबाट उनको परिवारको पालनपोषण हुँदै आएको थियो।
जोखनको निधनपछि उनका छोरा छेदीले बाबुको बिँडो थामे। वर्षायाममा पुलको पुनर्निर्माण गर्ने र वारपार गर्नेहरुबाट पाएको अन्न र पैसाले परिवार पाल्दै आएका छेदीको पनि केही वर्षअघि निधन भयो। अहिले छेदीका छोरा रामचन्द्रले पुर्खौली रुपमा चल्दै आएको पुल बनाउने कामलाई निरन्तरता दिँदै आएका छन्। उनले आफ्नो अधिकांश समय पुलको रेखदेखमा खर्चिने गरेका छन्। पुल प्रयोग गरेबापत पाउने पैसा र अन्न नै उनको परिवार पाल्ने मुख्य स्रोत हो।
सामान्य खेतीपाती पनि गरेका रामचन्द्रले पुललाई कमाइ खाने भाँडो भन्दा पनि नागरिकको सुबिस्तालाई प्राथमिकतामा राखेको बताए। ‘सेवाभावले पुर्खाले सुरु गरेको काम बन्द गर्न मन छैन,’ उनी थप्छन्, ‘स्थायी रुपमा पुल निर्माण भए मेरो पनि जिम्मेवारी सकिन्थ्यो, पुर्खाको आत्माले पनि शान्ति पाउँथ्यो।’
पुल प्रयोग गरेबापत उनलाई अरुले आर्थिक सहयोग गर्दै आएका छन्। ‘तर, पैसा लिँदा यति नै दिनुपर्छ भनेर माग्ने गरेको छैन र दिनैपर्छ भन्ने पनि छैन,' उनी भन्छन्। उनले स्थानीयबाट वार्षिक प्रतिपरिवार ४/५ किलो धान र बाहिरबाट आउने मानिसबाट ५ देखि १० रुपैयाँ पाउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।