टोकियो– उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका छन्।
दुई कोरियाबीच कार्यकारिणी तहका अधिकारीबीच पनि पछिल्ला केही समययता वार्ताहरु जारी नै रहेका बताइएको छ। चिनियाँ विदेशमन्त्रीले उत्तर कोरियाको विषयमा वार्ता गर्न भन्दै जापान भ्रमण सुरु गरेका हुन्।
यी अधिकारीहरुबीच कोरियामा केही समयअघि भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुका साथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि छलफल भइरहेको बुझिएको छ।
सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार मात्र दिएको थियो। उक्त मन्त्रालयका अनुसार दुई कोरियाका कार्यकारी तहका व्यक्तिहरुबीच केही दिनयता दुई चरणमा वार्ता भएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार जापान पुगेका हुन्। उनले शनिबारै जापानी समकक्षी तारो कोनोसँग भेटवार्ता गरेका थिए। गएको जनवरी महिनामा मात्र जापानी प्रधानमन्त्री कोनो चीन पुगेका थिए। उनी र चिनियाँ विदेशमन्त्री वाङबीच बेइजिङमा पनि कुराकानी भएको थियो।
यस पटकको भ्रमण विशेषगरी उत्तर र दक्षिण कोरियाबीच विकसित पछिल्लो घटनाक्रमबारेमा केन्द्रित हुने पनि बताइएको छ।
गएको फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा उत्तर कोरियाली प्रतिनिधिको सहभागिताबाट दुई कोरियाबीचको सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको बताइन्छ।
हालैमात्र उत्तर कोरियाली नेता किम जोङ उनले चीनको भ्रमण गरेका थिए। दुर्लभमध्येको एक मानिएको उनको सो भ्रमणको व्यापक मात्रामा विश्वभर चर्चा भएको थियो।
उक्त भ्रमणपछि दुई कोरियाबीच अर्को एक महत्वपूर्ण उच्चस्तरीय द्विपक्षीय भ्रमणको पनि आदानप्रदान भएको छ। सो भ्रमणपछि यसै महिनाको अन्तिमतिर उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय सम्मेलन हुने तय भएको बताइएको छ।
त्यसैगरी अमेरिका र उत्तर कोरियाबीच पनि औपचारिक भेटवार्ता हुने समाचार यसअघि नै आएको थियो। उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मे महिनामा यस्तो भेटवार्ता हुन लागेको कोरियाली अधिकारीहरुको भनाइ छ।
यीनै विषयहरुमा चिनियाँ विदेशमन्त्रीको जापान भ्रमण केन्द्रित हुने अनुमान गरिएको समाचारहरुमा जनाइएको छ।
इस्ट चाइना सि देखि अरु पनि केही सीमासम्बन्धी विवादमा रहेका चीन र जापानबीचको यो द्विपक्षीय वार्तालाई पनि महत्वका साथ हेरिएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।