काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगारीमा रहेका ८६ प्रतिशत श्रमिकहरुले लकडाउनको अवधिमा पनि पूरा पारिश्रमिक पाएको दाबी गरेको छ।
जिफन्टले कोभिड १९ का कारण श्रमिकहरुमा परेको समस्याको अध्ययन गरेको भन्दै ८६ प्रतिशत श्रमिकले पूरा पारिश्रमिक पाएको दाबी गरेको हो। जिफन्टका अनुसार २ दशमलव ४६ प्रतिशत श्रमिकहरु पूर्णत कामबिहीन छन्।
बाँकी श्रमिकहरुलाई रोजगारदाताले काम लगाएको वा कोरोनाका कारण क्याम्प तथा क्वारेन्टाइनमा राखिएको अवस्था भएको उसको दाबी छ। विदेशमा रहेका श्रमिकमध्ये रोजगार सम्झौता अवधि बाँकी रहेका २ दशमलव ९३ प्रतिशतले पारिश्रमिक पाएका छैनन्। १० दशमलव ९८ प्रतिशतले आंशिक पारिश्रमिक पाएको अवस्था रहेको जिफन्टले अध्ययनलाई उद्धृत गर्दै भनेको छ।
विदेशमा ओभरटाइम कामको अवस्था भने नभएको देखिन्छ। जसले गर्दा श्रमिकको आम्दानी घटेको महासंघको अध्ययनले देखाएको छ। महासंघले विभिन्न मुलुकमा रहेका जिफन्ट सहयोग समूहलाई परिचालन गरी प्रवासी श्रमिकको द्रुत अध्ययन जनाएको छ।
यस क्रममा मलेसिया तथा मध्यपूर्वका मुलुकहरु कतार, साउदी अरेयिबा, कुवेत, बहराइनमा समेत गरी १९ हजार ५ सय ७१ जनालाई अध्ययनमा सामेल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।