काठमाडौं– ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियानको आज थालनी गरिएको छ। काठमाडौंको ज्ञानेश्वरदेखि चाबहिलसम्म सरसफाई गर्दै आज सो अभियानको सुरुवात गरिएको हो।
अधिकार प्राप्तिसँगै कर्तव्य पालनका लागि पनि हरेक नागरीकलाई उत्तिकै सचेत बनाइराख्न सो अभियानको थालनी गरिएको हो। सांसदको कार्यालय, काटमाडौं क्षेत्र नम्बर ४ ले आयोजना गरेको सुरुवात गरेको सो अभियानले हरेक महिना विभिन्न क्षेत्रसँग सम्बन्धित रहेर नागरीकलाई जिम्मेवारी बोध हुने किसिमले कार्यक्रम गर्दै जाने नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापाले बताए।
अभियान शुभारम्भ कार्यक्रममा बाल्दै थापाले आफ्ना पुर्खाले सिर्जना गरको पूर्विय सभ्यता संसारभरी मै उत्कृष्ट रहेको बताउँदै यसलाई अझै सभ्य बनाउन लाग्नुपर्ने तर्क गरे। उनले हरेक कार्यका लागि सरकारको मात्रै मुख ताक्ने गलत बानीलाई हटाउनुपर्ने बताए। उनले भने,‘आफुँबाहेक अरुका लागि जिम्मेवार बनौँ। सरकार मात्रै सबथोक होइन। सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेमा मात्र देशले सम्वृद्धिको अनुभव गर्न पाउँछ।’
अभियानको शुभारम्भ गर्दै संस्कृतिविद सत्यमोहन जोशीले अधिकार र कर्तव्य सँगसँगै जोडिएर आउने भएकोले आफ्नो जिम्मेवारी सबैले सम्झनुपर्ने बताए। उनले प्राचिन सभ्यताको संरक्षण तथा सम्वद्र्धनमा लाग्न पनि जोड दिए।
‘हाम्रा पुर्खाहरुले बनाएको पशुपतिनाथ, बौद्ध, वसन्तपुर, हनुमानढोका, स्वयम्भुलगायत प्राचिन सम्पदाहरु नेवार, तामाङ, बाहुन वा भनौ नेपालीको लागि मात्रै होइन। यी सम्पदाहरु त विश्वकै मानिसहरुका लागि निर्माण गरिएको सम्पत्ति हो।’, उनले थपे, ‘युनेस्कोले समेत विश्व सम्पदा सूचीमा राखेका यस्ता ऐतिहासिक महत्वका संरचनाको संरक्षणमा सबै लाग्नुपर्छ।’
उनले आफ्नो सँगसँगै वातावरणको पनि सरसफाईमा ध्यान दिन सजग गराए।
अभियानमा रुद्रमती सरोकार समाज, फोहरमैला व्यवस्थापन संघ नेपाल, वातावरण संरक्षण अभियानलगायतले सहयोग गरेका थिए। सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय महिला समूह, विभिन्न संघसंस्था तथा स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।