रसुवा- चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको ट्र्याक निर्माण सम्पन्न भएको छ।
राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडकको ट्रयाक शुक्रबारदेखि खुलेको हो।
२०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक को ट्रयाक निर्माणको काम निर्धारित समयमै सम्पन्न भएको नेपाली सेनाको मैलुङ स्याफ्रुबेशी सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए। उनले विभिन्न समस्याको बाबजुत पनि निर्धारित समयमै निर्माण सम्पन्न गरेको जानकारी गराए।
सडक निर्माण सम्पन्न गरिए पनि स्तरोन्नतिको काम भइरहेकाले सडक हस्तान्तरण गर्नुपूर्व यातायात सञ्चालन गर्न नदिने केसीले बताउँछन्। 'निर्माण गरिएको सडकमा तत्काल सवारी साधन सञ्चालनका लागि अनुमति दिँदैनौ, हामी एकै पटक अब हस्तान्तरण गर्छौँ,' उनले भने।
बेत्रावतीदेखि स्याफ्रुबेँसीसम्म १७ किलोमिटर डबल लेन र ६ किलोमिटर सिंगल लेन गरी २३ किलोमिटर सडक निर्माण गरिएको हो।
भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन निर्माण गरिएको उनको भनाइ छ। कार्यदललाई सुरुवातमा ७ किलोमिटर सिङ्गल लेनको सडक निर्माण गर्ने जिम्मेवारी तोकिएको थियो।
भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने गरी १७ किलोमिटर सडक दुई लेनको सडक निर्माण गर्न अनुमति दिइएको थियो। निर्माण सुरु भएको केही समयमा अर्थात् बैसाख १२ गते भूकम्प गएपछि निर्माण कार्य केही समय प्रभावित भएको थियो। गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी हुँदै रसुवागढी नाका जोड्ने सडकमध्ये सिम्ले–मैलुङ र मैलुङ–स्याफ्रुबेसी सडक नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको थियो। भूकम्प र नाकाबन्दीले निर्माण कार्य प्रभावित भए पनि तोकिएको समयमा निर्माण सम्पन्न भएको हो।
बैसाखभित्र हस्तान्तरण
भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्यमा केही ढिलाई हुन पुगे पनि तोकिएको समयमा नै सडक निर्माण कार्य सम्पन्न गर्न सफल भएको निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी केसीले बताए। निर्माण भएको सडक २०७५ बैसाखभित्रै सडक विभागलाई हस्तान्तरण हुने केसीको भनाइ छ।
सडक स्तरोन्नतिका लागि नेपाली सेनाका एक सय ५२ र अन्य ९० जनाले कार्य गरिरहेका छन्।
२५ किमि दुरी छोटिने
नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ।
बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ। पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती नरहेको निर्माण कार्यदलले जनाएको छ।
काठमाडौंदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्र १६ किमी दुरी रहेको छ। काठमाडौंबाट बेत्रावती धुन्चे रसुवगढीको दुरी १४५ किलोमिटर रहेको छ भने काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दुरी १२२ किलोमिटर मात्र हुनेछ।
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्न नपर्ने प्रमुख प्राविधिक सेनानी केसीले बताए।
यस्तै, राम्चे, मुलखर्क र ग्राङमा पर्ने पहिरोको चिन्ता र जोखिमपूर्ण भीरको सडक समेत भएकाले बेत्रावती स्याफ्रुबेँसी सडक सञ्चालन गर्न मैलुङ तर्फबाट सरकार बढी आकर्षित देखिएको छ।
चीनले पनि यो मार्गको विकासका लागि चासो दिँदै आएको छ भने नेपाल सरकारले पनि चीनसँग नाका जोडिएका स्थानहरुका सडक मार्गहरुलाई प्राथमिकता दिएसँगै यो सडक निर्माण गर्ने कामले प्राथमिकता पाएको थियो।
बर्खाको समयमा प्रयोग गर्न नहुने
नवनिर्मित सडकमा दुई वर्षसम्म बर्खाको समयमा सवारी साधन सञ्चालन गर्न नमिल्ने निर्माण नेपाली सेनाको मैलुङ स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले जनाएको छ।
कार्यदलका अनुसार बर्खाको ४ महिना सवारी साधन सञ्चालन गर्दा जोखिम बढी हुन्छ। पहिरो खस्ने तथा ढुंगाहरु झर्ने सम्भावना बढी भएकाले बर्खा अवधिभर सवारी सञ्चालन नगर्दा फाइदा हुने कार्यदलका प्रमुख प्राविधिक सेनानी केसी बताउँछन्।
बर्खाको समयमा बेत्रावती कालिकास्थान धुन्चे स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने सडक प्रयोग गर्न सकिने बताइएको छ।
चीनसँगको व्यापारिक नाका तातोपानी बन्द भएपछि चासो र चर्चाको केन्द्रमा छ, अहिले चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढी। तर, चीनको प्रमुख ब्यापारिक नाका रसुवागढी जोड्ने सडकमार्गको अवस्था भने चर्चा योग्य छैन। रणनीतिक महत्वको सडकको हालत खराब भएकै कारण सुधार र विस्तार गर्न नेपाली सेनाले अहोरात्र काम गरेको छ।
सेनाका प्राविधिक तथा जवानहरु चुनौतीलाई पार गर्दै बिहान ७ बजेदेखि बेलुकी साढे ५ बजेसम्मै सडकमा काम गर्ने गर्छन्। उनीहरु चीनलाई चिहाउने रसुवागढी नाकासम्मको सडकलाई सहज बनाउन अहोरात्र काम गरिएको भेटिएको छ।
अग्ला र जोखिमयुक्त पहराका असजिला चट्टानलाई सेनाले निमिट्यान्न पार्दै सडक विस्तार गरेको छ।
उच्च आधुनिक प्रविधि नभए पनि असजिला पहरा भत्काउँदै सेनाले सडकका लागि गरिरहेको कामले जो कोहीलाई पनि प्रभावित पार्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउँछन्।
सेनाले निर्माण गरिरहेको सडक निर्माणपश्चात् अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरिएको रसुवागढी नाकाबाट आयात तथा निर्यात बढ्ने अपेक्षा गरिएको छ। चीनले पनि आफ्नो रसुवागढीदेखि केरुङसम्मको २६ किलोमिटर सडकलाई प्राथमिकता राखी तीव्र गतिमा निर्माण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।