काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई सीपका आधारमा ऋण उपलब्ध गराउने भएको छ। वैदेशिक रोजगारीमा संकुचन आउने र लाखौँ युवाहरु रोजगारी गुमाएर फर्किन सक्ने अबस्था भएकाले उनीहरुको सीप तथा दक्षताका आधारमा ऋण प्रदान गरिने भएको हो।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशबाट फर्किएका दक्ष युवाहरुलाई उद्यम सुरु गर्न पुँजी उपलब्ध गराउने बताएकी हुन्।
युवाहरुको ज्ञान, सीप तथा दक्षतासँग सम्बन्धीत व्यवसाय सञ्चालन गर्न प्रोत्साहन स्वरुप पुँजी उपलब्ध गराउने राष्ट्रपति भण्डारीले बताइन्। त्यस्तै प्रत्येक स्थानीय तहका रोजगार सेवाकेन्द्रमार्फत श्रमिक र रोजगारदाताबीच समन्वय गरी रोजगारीका लागि सहजीकरण गरिने कार्यक्रम सरकारले अघि सारेको छ।
देशमा भएका सबै प्रकारका श्रम शोषणको अन्त्य गरी असल श्रम सम्बन्ध स्थापित गरिने नीति सरकारले अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।