इस्लामावाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएका छन्।
पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला सुनाएको हो।
पाकिस्तानी संविधानको धारा ६२ अनुसार सरिफलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ। यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन।
भ्रष्टाचारको आरोप लागेपछि उनले गत वर्षको २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।
उनी झण्डै ४ वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री पदको सपथ लिइरहँदा ६७ वर्षीय सरिफले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।