काठमाडौं- देश सफा हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सफा हुनुपर्ने माग गर्दै सम्पदा संरक्षणमा खटिएका युवाहरुले शुक्रबार विहान अख्तियारको प्रांगणको फोहोर सफा गरेका छन्।
हनुमान ढोका क्षेत्रको बफर जोनमा क्रिष्टल व्यापारिक भवन बनाउन दिएको र त्यसले हनुमान ढोका क्षेत्र बचाउन माग गर्दै उनीहरुले अख्तियारमा उजुरीसमेत दिएका छन्।
काठमाडौं महानगरका कर्मचारीको समेत मिलेमतोमा विश्वसम्पदा सूचीमा रहेको क्षेत्रमा व्यापारिक भवन निर्माण भएको भन्दै कारबाहीको मागसहित उजुरी दर्ता गराएको अभियान्ता गणपति लाल श्रेष्ठले बताए। ‘देश सफा हुन अख्तियार सफा हुनुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो कार्य गरेका हौं,’ श्रेष्ठले भने, ‘पटकपटक क्रिष्टल भवन रोक्न ताकेता गर्दा समेत महानगरको मिलेमतोमा सम्पदा मास्नेगरी भवन सुरु भएको विज्ञापन आएकाले हामीले सचेत गराएका हौं।’
अख्तियार सक्रिय भएमा देशको भ्रष्टाचार न्युन हुने भएकाले जगाउनका लागि सन्देश पनि दिन यस्तो सांकेतिक कार्यक्रम गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।