काठमाडौं-म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले राखेकाे नगद धरौटी तत्कालका लागि सरकारसँग फिर्ता मागेका छन्।
कोरोनाका कारण व्यवसाय धरापमा परेपछि नगद धरौटीबापतकोे ४ अर्ब ३१ करोड रुपैयाँ तत्कालका लागि फिर्ता मागेका हुन्।
आइतबार संघका पदाधिकारी, नेपाली काँंग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महत र सल्लाहकारसहितको बैठकले कोरोनाबाट वैदेशिक रोजगारी तथा म्यानपावर व्यवसायीमा पर्ने असरलगायत व्यवसायीहरुलाई राहत दिलाउने सम्बन्धमा छलफल गरेको हो।
अहिले वैदेशिक रोजगारीमा कामदार पठाउन इजाजत लिएका ८ सय ५३ वटा म्यानपावर कम्पनी छन्। कोरोनाका कारणा ती सबै बन्द छन्। विदेशबाट रेमिट्यान्स आर्जन गरी देशको कुल गार्हस्थ उत्पादनमा ३० प्रतिशत योगदान पुर्याई अर्थतन्त्र बचाउँदै आएको म्यानपावर व्यवसायमा संलग्न व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था सिर्जना भएकाले सरकारले राहत, छुट तथा सहुलियत उपलब्ध गराउनुपर्ने व्यवसायीहरुको माग छ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्नका लागि वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावरले न्यूनतम ५० लाख नगद धरौटी र १ करोड ५० लाख बैंक ग्यारेन्टी राख्नुपर्ने कानुनी प्रावधान छ। ३ हजारदेखि ५ हजारसम्म वार्षिक कामदार पठाउने म्यानपारले १ करोड नगद र २ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने कानुनी प्रावधान छ।
त्यस्तै ५ हजारभन्दा बढी कामदार पठाउनेले दुई करोड नगद धरौटी र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ। अहिले ८ सय ५३ वटा म्यानपावरमध्ये धेरैजसो न्यूनतम नगद धरौटी ५० लाख र बैंक ग्यारेन्टी १ करोड ५० लाख राख्ने छन्।
यी म्यानपावरहरुले नगद धरौटीबापत ४ अर्ब ३१ करोड रकम वैदेशिक रोजगार विभागमा बुझाएका छन् भने १२ अर्ब ८६ करोडको बैंक ग्यारेन्टी पेश गरेका छन्।
कोरोनाका कारण आर्थिक मन्दी भई व्यवसायी टाट पल्टिने तथा पलायन हुने अवस्था आएको भन्दै उनीहरुले नगद धरौटीबापतको ४ अर्ब ३१ करोड रकम केही समयका लागि फिर्ता मागेका छन् ।
व्यवसायीको नगद धरौटी एक वर्ष चलाई एक वर्षपछि विभागको खातामा जम्मा गर्ने शर्तमा व्यवसायीलाई दिने निर्णय गर्न व्यवसायीहरुले सरकारसँग माग गरेका हुन्। कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका २५ देखि ३० प्रतिशत श्रमिकहरु रोजगारी गुमाएर फर्किने अबस्था रहेको संघले आँकलन गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।