रियाद-साउदी सरकारले आवासभन्दा बाहिर भेला हुने कामदारहरुलाई ५० हजारसम्म जरिवाना गर्ने निर्णय गरेको छ। साउदीको आन्तरिक मामिला मन्त्रालयले एक निर्देशन जारी गर्दै कुनै पनि कामदारलाई आफ्नो आवासभन्दा बाहिर भेला नहुन आग्रह गरेको छ।
कामदारहरु बसिरहेको आवासभन्दा बाहिरका आवासीय भवन, बन्दै गरेका भवन, इस्तारा वा फार्महरुमा भेला भएको पाइएमा ५० हजार साउदी रियालसम्म जरिवाना गर्ने जनाएको छ। निर्देशनको अवज्ञा भएमा अन्य सजायसमेत हुने उक्त निर्देशनमा उल्लेख छ।
साउदी सरकारको निर्देशनविपरीत कुनै पनि कार्य नगर्न साउदीस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुलाई आग्रह गरेको छ। पछिल्लो समय साउदीमा कोरोना संक्रमण बढ्दै गएको छ। हालसम्म ३५ हजार ४ सय ३२ लाई कोरोना संक्रमण भएको छ। २ सय २९ जनाको ज्यान गएको छ भने ९ हजार १ सय २० निको भएका छन्।
साउदीमा आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएको दूतावासले जनाएको छ। गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले गत आइतबार सार्वजनिक गरेको साप्ताहिक तथ्यांकअनुसार साउदीमा ३४ नेपालीलाई कोरोना संक्रमण भएको छ । त्यसयता संक्रमणको नयाँ तथ्यांक सार्वजनिक भएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।