काठमाडौं-साउदीस्थित नेपाली दूतावासले उडान कहिले खुल्छ भनेरमात्र फोन नगर्न श्रमिकहरुलाई आग्रह गरेको छ।
विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका, करार सकिएका बिरामी परेका लगायतका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनका लागि नेपाल सरकारले गम्भीररुपमा विभिन्न चरणका गृहकार्यहरु गरिरहेकाले उडान कहिले खुल्छ भनेर फोन नगर्न आग्रह गरेको हो ।
'पछिल्ला दिनहरुमा राजदूतावासमा आउने फोनहरुमा धेरैजनाको जिज्ञासा उडान कहिले खुल्छ भन्नेमा रहेको पाइएको छ' दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, 'नेपाल सरकारले उद्दार उडानहरु सञ्चालनमा ल्याउने सम्बन्धमा गर्ने निर्णयलाई नेपाली राजदूतावासले सामयिकरुपमा जानकारी गराउने भएकाले उडान कहिले हुन्छ भन्ने प्रश्न सोध्नका लागिमात्र कृपया फोन नगरिदिनुहुन अनुरोध छ ।'
नेपाली नागरिकहरुले उद्दार, स्वदेश फिर्ती लगायतका विषयमा टिपाएको विवरण राजदूतावासले कम्प्युटर प्रणालीमा राखी प्राथमिकताका आधारमा वर्गीकरण गर्ने गरेको जनाएको छ।
त्यस्तै साउदीमा आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकाले व्यापक सावधानी अपनाउन दूतावासले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।