काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोनाका कारण रोजगारी गुमाएर विदेशबाट फर्किने श्रमिकहरुलाई सीपअनुसारको रोजगारी दिने उल्लेख गरेको छ।
बुधबार मन्त्रालयले विदेशमा रोजगारी गुमाएर फर्किने श्रमिकहरुलाई रोजगारीको वैकल्पिक व्यवस्थाबारे विज्ञहरुसँग छलफल गरेको थियो। सोही छलफलमा विदेशबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी सीपअनुसारको रोजगारी उपलब्ध गराउनुपर्ने विज्ञहरुले सुझाव दिएका हुन्।
बैठकमा कोरोना भाइरसका कारण नेपालको श्रम बजारमा परेको अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन प्रभावका बारेमा छलफल भएको थियो। त्यस्तै कोरोना संक्रमण बढ्दै गएमा यसबाट आन्तरिक तथा वैदेशिक रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा पर्ने प्रभावका सम्बन्धमा समेत छलफल केद्रित थियो।
श्रममन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्व उपाध्यक्षलगायत विज्ञहरुको सहभागिता थियो। विज्ञहरुले उत्पादनशील लगानी, उत्पादकत्व वृद्धि, श्रमिकहरुलाई रोजगारी तथा राहत, ठूला, मध्यम, साना रोजगारदातालाई उद्यम व्यवसाय सञ्चालनको निरन्तरता लिनुपर्ने रणनीति तथा प्रोत्साहन दिन सरकारलाई सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।