सुर्खेत– जंगलमा रुख काटे वन कर्मचारीले लखेट्छन्। पहिले जसरी सिकार गर्नलाई बाँदर पाउन पनि छोडे। बनाएका काठका सामग्री बिक्री हुँदैनन्।
जीविकोपार्जनका लागि अन्य विकल्प नहुँदा लोपोन्मुख राउटे समुदाय यतिबेला समस्यामा छन्। दैलेखको डुङ्गेश्वर गाउँपालिकास्थित पराजुली खोला किनारमा रहेको राउटे बस्तीलाई दैनिक जीविकोपार्जनकै समस्याले पिरोलिरहेको छ।
राउटे बस्तीमा अहिले ४६ परिवार छन्। जम्मा १ सय ५० जनाको संख्यामा रहेका राउटेहरू सरकारसँग राहतको अपेक्षा गरिरहेका छन्।
उनीहरुले जंगलमा बाँदर र गुनाको शिकार गरेर छाक टार्ने गरेका थिए। तर, पछिल्लो समय जंगली जनावर नै पाउन छाडेको उनीहरु बताउँछन्। राउटे दलबहादुर शाहीले जंगली जनावर नपाउँदा परिवार पाल्नै धौ–धौ भएको बताए। ‘जंगलमा काठ काट्न जाँदा गाउँलेले लखेट्छ,’ उनले दुखेसो पोखे, ‘काठ काट्न पनि पाउँदैन, बाँदर पनि वनमा छैन। के गरेर बाँच्ने?’
पहिला काठको सामान बेचेरै परिवार पाल्दै आएका राउटेहरुले पछिल्लो समय वनले काठ काट्न नदिएको भन्दै आफूहरुले काठ काट्न पाउनुपर्ने माग गरेका छन्। ‘हामीलाई कि काठ काट्न दिनुपर्छ नत्र भने सरकारले नै राहत दिएर पाल्नुपर्छ,’ अर्का राउटे धनबहादुर शाहीले भने।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।