काठमाडौं– विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) संक्रमणको समयमा पनि कतार सरकारले आप्रवासी श्रमिकलाई आफ्नै नागरिक सरह व्यवहार गरेको छ। कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय आप्रवासी श्रमिकको हक अधिकार सुनिश्चितताका लागि प्रतिबद्ध रहेको विभिन्न स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रशासनिक विकास मन्त्रालयले स्वास्थ्य तथा रोजगारीसम्बन्धी दिशानिर्देशन जारी गरी श्रमिकहरुलाई सुसूचित तथा जागरुकताका लागि जोड दिएको छ। हालसम्म मन्त्रालयले ३ लाखभन्दा बढी आप्रवासी श्रमिकहरुलाई सहयोग पुर्याइसकेको छ।
कतार सरकारले आप्रवासी श्रमिकहरुको हकअधिकार सुनिश्चितताको निरीक्षणका लागि वैकल्पिक संयन्त्रसमेत खडा गरेको छ।
श्रम मामिलाका लागि सहायक सचिव मोहम्मद हुसेन अल अवैद्लीले आप्रवासी श्रमिकहरुको योगदानलाई कदर गर्दै कोरोना संक्रमणबाट टाढा राख्न सरकारले यथासम्भव प्रयास गरिरहेको बताए। उनले भने, ‘हामी प्रवासी श्रमिकहरुको योगदानका लागि सम्मान व्यक्त गर्दछौँ। जसले हाम्रो देश निमार्णमा मद्दत पुर्याएका छन् र अहिले पनि योगदान गरिरहेका छन्। कतार सरकारले यो कोरोना महामारीको प्रभावबाट श्रमिकहरुलाई टाढै राख्न यथासम्भव प्रयास गरिरहेको छ।’
अन्तराष्ट्रिय ट्रेड युनियनहरु तथा अन्य संगठनहरुले पनि खाडीमा रहेका मजदुरहरुलाई कोरोना भाइरसबाट बचाउनका लागि स्वास्थ्य सेवा प्रदान गर्ने, ज्याला तथा मानव अधिकारको सुनिश्चितताका लागि सहयोग पुर्याउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।