इस्तानबुल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ।
उनीहरुबीच सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि के–कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको बताइएको छ।
टर्किस राष्ट्रपतिको कार्यालयले उक्त टेलिफोन वार्ता भएको जानकारी दिएको छ। उक्त जानकारी अनुसार सिरियामा जारी पछिल्लो प्रगतिका बारेमा उनीहरुहरुबीच फोनमा कुराकानी भएको बताइएको छ तर यसको पूर्ण जानकारी भने दिइएको छैन।
उक्त कुराकानीको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै धम्की दिएको एक दिनपछि यो फोनवार्ता भएको समाचारमा जनाइएको छ।
उता टर्किस प्रधानमन्त्री बिनाली यिल्दीरीमले पछिल्लो समयमा सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच वाकयुद्ध सुरु भएको भन्दै यस्तो द्वन्द्व रोकेर आवश्यक शान्तिपूर्ण कारबाहीका लागि आग्रह गरेका थिए।
अमेरिका र टर्की नेटो सैन्य सहयोगी गठबन्धनका सदस्य राष्ट्र हुन्। तर पछिल्ला केही समयमा भने यी राष्ट्रहरुबीच केही आन्तरिक मुद्दाका कारण असमझदारी विकास हुँदै गएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।