अल्जेरिया– अल्जेरियामा बुधबार दुर्घटनाग्रस्त भएको सैनिक विमानमा यात्रारत १० चालक दलका सदस्यसहित सबै २ सय ५७ यात्रुको मृत्यु भएको छ।
राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि उडेको केही बेरमै विमान दुर्घटनामा परेको अल्जेरियाली अधिकारीले बताएका छन्।
इल्युशिन २–७६ विमानमा यात्रारत अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य रहेका र दुर्घटनामा सम्पूर्ण व्यक्तिको निधन भएको अल्जेरियाली अधिकारीले जनाएका छन्।
घटनास्थलमा पुगेका एएफपी फोटो पत्रकारले अल्जेरियाको बोफारिक हवाई शिविर नजिकै विमान जलेर ध्वस्त भएको अवस्थामा देखेको बताएका छन्।
अल्जियर्सको दक्षिणपश्चिमी क्षेत्रबाट घटनास्थलमा उद्दार र गाटो नियन्त्रणका लागि ठूलो संख्यामा एम्बुलेन्स तथा दमकलको परिचालन गरिएको थियो।
अल्जेरियाका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गरी विमानमा यात्रारत १० जना चालक दलका सदस्यसहित २ सय ५७ यात्रुको मृत्यु भएको पुष्टि गरेका छन्।
उपरक्षामन्त्री जनरल अहमद गाइद सालेहले विमान दुर्घटनास्थलमा पुगी घटनाको विवरण लिएका रक्षा मन्त्रालयले बताएको छ। निकै दुःखदायी घटनाको संज्ञा दिँदै सरकारले ३ दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ।
अल्जेरियाको कोन्सटेन्टाइनमा यस पहिले सन् २०१४ को फेब्रुवरीमा भएको विमान यस्तै सैनिक विमान दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो। सोही वर्ष जुलाईमा भएको अर्को अल्जेरियाली विमान दुर्घटनामा १ सय १६ जनाले ज्यान गुमाएका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।