एजेन्सी- सिरियामा जारी द्वन्द्वको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढ्ने देखिएको छ।
अमेरिकाले क्षेप्यास्त्र प्रहार गरे त्यसलाई खसालिदिने रुसले धम्की दिएपछि जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'त्यसका लागि तयार रहन' चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा सो चेतावनी दिँदै लेखेका छन्, ‘सिरियामा प्रहार गरिएका सबै क्षेप्यास्त्र खसाउने रुसले कसम खाएको छ। ती क्षेप्यास्त्र आउँदैछन्, तयार भएर बसे हुन्छ।'
उनले रुस ‘आफ्नै जनतालाई मार्ने जनावर’ को साझेदार बन्न नहुने पनि बताएका छन्। उनको सार्वजनिक अभिव्यक्तिपछि दुई देश मात्र नभई विश्वभर समेत तनाव सिर्जना हुने देखिन्छ।
केही समय पहिले रासायनिक हतियार प्रहारबाट ठूलो मात्रामा सिरियाली जनताको मृत्यु भएको थियो। यसअघि लेबनानका लागि रुसी राजदूत अलेक्जेन्डर जासिप्किनले सिरियामा अमेरिकाले क्षेप्यास्त्र प्रहार गरे त्यसलाई खसाइदिने बताएका थिए।
पछिल्लो समय सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच सैन्य तनाव बढ्ने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।