दमास्कस–विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सिरियाको डोमामा रासायनिक हतियारको प्रयोग भएको सम्बन्धमा अनुसन्धानका लागि ‘निर्वाध पहुँच’को माग गरेको छ। सिरियाको डोमामा यसै साता भएको हवाई आक्रमणमा रासायनिक विशाक्त ग्याँसको प्रयोगबाट ५ सयभन्दा बढी नागरीक प्रभावित भएको आफ्ना सहयोगीहरुले दिएको प्रारम्भिक प्रतिवेदनको पुष्टिका लागि डब्लुएचओले सो माग गरेको बताएको छ।
तर सिरियाली सरकारले भने हवाई आक्रमणमा कुनै पनि किसिमको रासायनिक ग्यासको प्रयोग नगरेको दावी गर्दै आएको छ। सो घटनापछि अमेरिका तथा पश्चिमा मुलुकहरुले सिरियाली सेनाविरुद्ध कडा टिप्पणी दिँदै आएका छन्। उता सिरियाली सेनालाई प्रत्यक्ष रुपमा सघाउँदै आएको रुसले भने सो टिप्पणीलाई जालझेलको संज्ञा दिएको छ।
उक्त घटनामा रासायनिक ग्यासको प्रयोग भएको पुष्टि भएको खण्डमा दोषीलाई नछोड्ने बेलायती प्रधानमन्त्री थेरेमा मेले चेतावनी दिएकी थिइन्। हिजो मात्रै संयुक्त राष्ट्रसंघमा भएको छलफलपछि फ्रान्सका राष्ट्रपति इम्यान्युअल म्याक्रोनले रासायनिक ग्यास भण्डारण गरिएका सिरियाली सैनिक अखडामा हवाई हमला गर्ने चेतावनी दिएका थिए।
उक्त आक्रमणमा ७० भन्दा बढीको मृत्यु भएको थियो।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य संगठन डब्लुएचओले आफ्नो सहयोगी संस्था ‘हेल्थ क्लस्टर’ले ५ सय जनाभन्दा बढीमा रासायनिक ग्यासको प्रयोगपछिको लक्षण देखिएको दावी गरेको छ। उसका अनुसार घटनामा प्रभावित अधिकांशमा श्वासप्रश्वासमा कठिनाई हुने, घाँटीमा खसखस लाग्ने तथा केन्द्रिय श्वासप्रश्वास प्रणालीमा नै गम्भीर असर पर्ने लक्षणहरु देखिएको छ।
‘अस्पतालहरुमा उपलब्ध हुँदै आएको मुख्य २ वटा स्वास्थ्य सुविधासमेत लगातार प्रभावित हुँदै आएको छ।’, डब्लुएचओको विज्ञप्तिमा उल्लेख छ।
‘यस्तो डरलाग्दो रिपोर्ट तथा दृश्यहरु सार्वजनिक भएपछि उनीहरुप्रति घृणा जागेको छ।’, डब्लुएचओका डा पिटर सलामाले भने,‘जसले गर्दा तत्कालै निर्वाध पहुँच पुग्ने अनुसन्धान, सो स्थानमा रहेका घाइतेहरुको उपचार तथा स्वास्थ्य सामाग्री पुर्याउन दिन हामीले माग गरेका हौँ।’
उता सिरियाली सरकारले भने घटनाको स्वतन्त्र छानबिनका लागि संयुक्त राष्ट्रसंघलाई यसअघि नै आग्रह गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।