बेल्जियम- अन्तर्राष्ट्रिय एयर ट्राफिक कन्ट्रोल एजेन्सी युरो कन्ट्रोलले पूर्वी भूमध्यसागरबाट उडान भर्दै आएका विमान सेवा प्रदायकलाई सतर्कता अपनाउन चेतावनी दिएको छ। सिरियामा आउँदो ७२ घन्टामा हवाई कारबाही हुन सक्ने भन्दै युरो कन्ट्रोलले यस्तो चेतावनी दिएको हो।
हवाई कारबाहीको समयमा वायुदेखि थलसम्म मार हान्ने वा क्रुज मिसाइलको प्रयोग हुन सक्ने भएकाले रेडियो नेभिगेसन उपकरणले काम गर्न नसक्ने भन्दै युरो कन्ट्रोलले उक्त चेतावनी जारी गरेको हो।
सिरियामा गत शनिबार भएको आक्रमणको क्रममा सिरियाली राष्ट्रपति बसर अल असदले विषाक्त ग्यास प्रयोग गरेको हुन सक्ने अनुमान पश्चिमा राष्ट्रले गरेका छन्। उक्त आशंकासहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पश्चिमा शक्ति राष्ट्र अहिले सिरियामा हवाई कारबाही गर्ने मनसायमा छन्।
मंगलबार मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ल्याटिन अमेरिकाको भ्रमण पनि सिरियामा भएको उक्त आक्रमणका कारण रद्द गरेको ह्वाइट हाउसले जनाएको छ। ट्रम्पले सोमबार नै पनि सिरियामा भएको उक्त आक्रमणको दोषी पत्ता लाग्नासाथ तत्काल कारबाही गर्ने चेतावनी पनि दिएका छन्।
राष्ट्रसंघमा गतिरोध
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा अमेरिका र रसियाबीच संकल्प प्रस्ताव पारित हुन नसकेपछि गतिरोध देखिएको छ। भिटो अधिकार प्राप्त दुई शक्ति राष्ट्र अमेरिका र रसियाले सिरियामा शनिबार भएको आक्रमणमा रासायनिक हतियार प्रयोग भए/नभएबारे अनुसन्धान गर्नको लागि नयाँ समिति गठनको प्रस्ताव् उपर मतभेद जायर गरेका छन्।
गतिरोध बढ्दै जाँदा फ्रेन्च राष्ट्रपति इम्मानुयल म्याक्रोनले मंगलबार मात्रै पनि अमेरिका र बेलायतसँगको छलफल र संवादपछि सिरियामा केही दिनमै हवाई कारबाहीको लागि आदेश दिन सकिने बताएका छन्। म्याक्रोनले ती हवाई कारबाही सिरियाली सेनाको रासायनिक भण्डारमा केन्द्रित हुने प्रस्ट पारेका छन्।
फ्रान्स भ्रमणमा रहेका साउदी राजकुमार मोहम्मद बिन सलमानले पनि पेरिसमा फ्रेन्च राष्ट्रपतिसँगको संयुक्त वक्तव्यको समयमा आफ्नो राष्ट्र चाहिएको खण्डमा दमासकसविरुद्ध उत्रन सक्ने बताएका छन्।
अमेरिका, बेलायत, फ्रान्स र जर्मनीका हवाई सेवा प्रदायकलाई त्यहाँका वायुसेवा अनुगमन निकायले सिरियाली हवाई क्षेत्रमा प्रवेश नगर्न पहिल्यै चेतावनी दिइसकेका छन्।
सिरियाली हवाई आकाशमा बुधवार दिउँसोसम्म सिरियन एयर र लेबनानको मिडल इस्ट एयरलाइन्सले मात्रै उडान गरिरहेको फ्ल्याइट राडार २४ ले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।