दमासकस– सिरियाली सेनाले सोमबार बिहानै सेनाको टियास–४ (टि–४) हवाई अखडामा लेवनानी आकाशतर्फबाट भएको हमलामा इजरायली एफ–१५ युद्धक विमानको प्रयोग भएको जनाएको छ।
सेनाको होम्स नजिकै रहेको हवाइ अखडामा भएका आक्रमणबाट १४ जनाको ज्यान गएको र दर्जनौँ सर्वसाधारण घाइते भएका सिरियाली सैनिक स्रोतले उल्लेख गरेको छ।
सिरियाली राज्य सञ्चालित टेलिभिजनका अनुसार बिहानै लेवनानी आकाशबाट हवाई आक्रमण भएकामा केयौँ रकेटलाई गन्तव्यमा पुग्नुपूर्व आकासमा नै सेनाको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको सहयोगमा निस्क्रिय पारिएको थियो भने केही हवाई अखडासम्म नै पुगेका थिए।
राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटामा विद्रोहीहरूको नियन्त्रण रहेको डुमा नगरमा रासायनिक अस्त्र प्रयोग गरेर भएको भनिएको आक्रमणबारे अन्तर्राष्ट्रिय स्तरमा निन्दा व्यक्त भइरहेका बेला यो पछिल्लो घटना भएको हो। रसायनिक हमला भएको आरोप प्रत्यारोप चलिरहेका समय टियास हवाई अखडामा भएको आक्रमणलाई सिरियाले सुरुमा संयुक्त राज्य अमेरिकाले गराएको हुनसक्ने बताएको थियो।
प्रहार गरिएका ८ वटामध्ये पाँचवटा क्षेप्यास्त्रहरू बीचमै खसालिएको र ३ वटा हवाई अखडाको पश्चिमपट्टि खस्न पुगेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
सन् २०१२ यता सिरियास्थित अखडाहरूमा दर्जनौँ पटक आक्रमण गरेको स्वीकारेको इजरायलले यस घटनाबारे केही प्रतिक्रिया दिएको छैन। इरानी समूहहरूले सिरियाली भूमिमा बसेर आफूविरोधी गतिविधि सञ्चालन गर्नसक्ने भन्दै सिरियालाई इरानी लडाकूबाट प्रभावित बन्न नदिने इजरायलले बताउँदै आएको छ। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।