भुवनेश्वर– भारतको ओरिसा राज्यमा शनिबार बेलुकी एउटा ठूलो दुर्घटना टरेको छ। करिब १ हजार मानिस सबार रेलका २२ डिब्बा इन्जिनबाट छुटिएर करिब १३ किलोमिटर गुडेपछि रोकिएको थियो।
गुजरातको अहमेदावादबाट ओरिसाको पुरी पुगेको उक्त रेल ब्याक गियरमा करिब ४५ मिनेटसम्म गुडेको थियो। इन्जिन बिना करिब सात माइल गुडेको उक्त रेलमा सवार १ हजार मानिसमध्ये कसैलाई पनि चोटपटक नलागेको भारतीय रेल अधिकारीले दाबी गरेका छन्।
रिर्भस गियरमा रेल इन्जिनबिना नै गुड्न थालेपछि रेल विभागका कर्मचारीले रेललाई रोक्नका लागि ट्रयाकमा फलाम र ढुंगा बिछ्याएका थिए, जसका कारण रेल रोकिएको थियो।
शनिबार राति भएको उक्त घटनासँग सम्बन्धित रहेका रेल विभागका ७ कर्मचारीलाई कार्यसम्पादनका क्रममा लापरबाही गरेको भन्दै बर्खास्त गरिएको छ। रेलका डिब्बा र इन्जिन कसरी छुट्टियो भन्ने विषयमा पनि अनुसन्धान थालिएको रेल विभागका प्रवक्ता जेपी मिश्राले बताए।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा रेलका डिब्बा उल्टो दिशामा गुडिरहेको र यात्रुबीच कोलाहाल मच्चिएको देखिएको छ।
भारतमा हरेक दिन करिब २ करोड मानिस रेलबाट यात्रा गर्छन् भने भारतमा मात्रै करिब ९ हजार रेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।