भैरहवा– चैते वर्षाका कारण रुपन्देहीका इँटा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन्।
उद्योगहरुमा पोल्न तयारी अवस्थामा राखिएका २ करोडभन्दा बढी काँचो इँटा वर्षाले नष्ट पारेको व्यवसायीहरुले दाबी गरेका छन्।
लुम्बिनी इँटा व्यवसायी संघ भैरहवाका अनुसार तीन दिनअघिको वर्षाले रुपन्देहीका ५२ वटा इँटा उद्योगका २ करोड ६० लाख गोटा काँचो इँटा नष्ट भएका हुन्। इँटा नष्ट हुँदा व्यवसायीहरुले १० करोड रुपैयाँभन्दा बढीको नोक्सानी बेहोरेको संघका अध्यक्ष थानेश्वर घिमिरेले जनाए।
वर्षाले एउटा भट्टामा कम्तीमा २ लाखदेखि १० लाखसम्म काँचो इँटा गलेर नष्ट भएको संघका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले बताए। काचो इँटाको बिमा पनि नहुने भएकाले राज्यले संरक्षण गर्न जरुरी रहेको उनको भनाइ छ।
रुपन्देहीमा उत्पादन हुने इँटा जिल्लाका साथै पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका स्थानमा बिक्री हुने गरेको छ। बेमौसमी वर्षाका कारण काँचो इँटा गलेर नष्ट भए पनि बजारमा अभाव हुन नदिन आफूहरु लागिपरेको संघका सचिव अजयकुमार गुप्ताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।