काठमाडौं- साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके रोशन भन्ने गुप्तलाल भुसाललाई धरौटीमा रिहा गर्ने जिल्ला र त्यसलाई सदर गर्ने उच्च अदालत पाटनलाई चुनौती दिँदै सरकार सर्वोच्च अदालत पुगेको छ।
महान्यायाधिवक्ता कार्यालयले सुन तस्करी र संगठित अपराधमा मुख्य अभियुक्त रहेको व्यक्ति जिल्ला अदालतको थुनछेक बहसकै क्रममा धरौटीमा रिहा हुन नसक्ने जिकिर गर्दै गत शुक्रबार सर्वोच्च पुगेको थियो। सरकारको उक्त निवेदनमा सुनुवाइ गर्दै आइतबार सर्वोच्चले उच्च अदालत र जिल्लाको आदेश झिकाउने आदेश गरेको छ।
न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सरकारको निवेदनमाथि सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो। दुवै अदालतका प्रतिवेदन प्राप्त भएपछि संयुक्त इजलासमा भुसाललाई थुनामा पठाउने वा जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश सदर गर्ने निर्णय गर्नेछ।
सरकारी पक्षले सुन ओसारपसारमा संलग्न रहेका भरियाहरु पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मुख्य अभियुक्त धरौटीमा रिहा हुन नसक्ने दाबी निवेदनमा गरेको छ। सरकारी वकिलको निवेदनमा मुख्य अभियुक्त अन्य देशमा भाग्ने खतरा भएकाले थुनामै राखेर मुद्दाको किनारा गर्नुपर्ने माग गरिएको छ।
गत कात्तिक २३ गते जिल्ला अदालतले भुसाललाई धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उनलाई कात्तिको पहिलो साता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘मोस्ट वान्टेड’ अभियुक्तका रुपमा फरार रहेका भुसाललाई पक्राउ गरेको थियो। हाइप्रोफाइल घटनामा संलग्न ती अभियुक्त पक्राउ परेको घटना भने सिआइबीले गोप्य राखेको थियो। ठूलै पहुँच भएका कारण उनी अदालतमा उपस्थित गराइएकै दिन धरौटीमा छुटेका थिए।
भुसाल गत वर्ष भएको साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके भनी सिआइबीले नाम सार्वजनिक गरेको थियो। भुसाल र हरि खड्का नै उक्त सुन तस्करी प्रकरणका प्रमुख नाइके भएको भन्दै सिआइबीले मुद्दा दायर गरेको थियो। तर, सिआइबीले नै भुसाल पक्राउको घटना गोप्य राखी अदालतबाट छुट्ने वातावरण बनाउन सहज गरिदिएको थियो।
युएईमा रहेका भुसाललाई नेपाल ल्याउन विगतमा प्रहरीले धेरै दुःख गरेको थियो। अदालतबाट पक्राउ पुर्जी जारी गरिएका उनी विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराइएको थियो। सोही अनुसार युएई प्रहरीले पक्राउ गरी नेपाल पठाएको थियो। काठमाडौं आए लगत्तै उनलाई प्रहरीको इन्टरपोल शाखाले नियन्त्रणमा लिई सिआइबीमा बुझाएको थियो।
सिआइबीले गत वर्ष २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन बरामद गरेको थियो। सुनसहित प्रहरीले सुन तस्करीमा भरियाका रुपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई पक्राउ गरेको थियो।
विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री समेत पक्राउ परेका थिए। यस्तै, भन्सारका कर्मचारीहरु श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पनि पक्राउ परेका थिए।
सिआइबीले करिब १७ करोड रुपैयाँको बिगो दाबी गरी ३३ जना विरुद्ध मुद्दा दायर गरेको थियो। जसमध्ये भरियाका रुपमा काम गर्नेहरु जेलमा छन् भने तस्करीका नाइके भनेर प्रहरीले मुद्दा चलाएका भुसालसहित अधिकांश धरौटीमा छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।