काठमाडौं- केही समयअघि निरन्तर रुपमा ओरालो लागेको सेयर बजारमा फेरि एकपटक उल्लास छाएको छ। पछिल्ला दिन नेप्से परिसूचकसँगै कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ।
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ४४ दशमलब २६ अंकले बढेर १ हजार २ सय ९४ दशमलब ६५ अंकमा आइपुगेको छ।
आइतबार परिसूचकसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ। यस दिन १ सय ७६ कम्पनीको ९१ कारोड ७७ लाख ८ हजार ९ सय ५९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि साताको अन्तिम कारोबारको दिन बिहीबार १ सय ६८ कम्पनीको ६१ करोड ९३ लाख ८३ हजार ८ सय ६६ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
आइतबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ। समूहगत रुपमा बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस समूहमा ३ सय ५८ दशमलब १ अंकले बढेको छ। त्यस्तै, लघुवित्त समूहमा ८५ दशमलब ६६ अंकको वृद्धि देखिएको छ भने होटल समूहमा ८२ दशमलब ५४ अंकको वृद्धि भएको छ।
आइतबार नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको ३ करोड १४ लाख ३८ हजार ३ सय ९२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, प्रभु इन्स्योरेन्सको २ करोड ६६ लाख ९६ हजार १ सय ६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आइतबार सूर्योदय लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८४ रुपैयाँ अर्थात् १० प्रतिशतले बढेको छ। यस दिन १५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।