काबुल– पाकिस्तान र अफगानिस्तानले संयुक्त रुपमा अफगानी तालिवानलाई शान्ति वार्तामा आउन आह्वान गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीको अफगानिस्तान भ्रमणपछि विज्ञप्ति जारी गरी तालिवानलाई शान्ति वार्तामा बोलाइएको भए पनि विद्रोही पक्षबाट भने केही जवाफ आएको छैन।
शुक्रबार पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयबाट जारी भएको एक विज्ञप्तिमा पाकिस्तानी प्रधानमन्त्री अब्बासी र अफगानी राष्ट्रपति अरसफ घानीले संयुक्त रुपमा तालिवानलाई ढिलाइ नगरी शान्ति वार्ताका लागि आह्वान गरेको उल्लेख छ।
‘दुवै नेताले तालिवानलाई आफ्नो प्रस्तावलाई सकरात्मक तरिकाले लिँदै शान्ति वार्ताको पक्षमा आउन र शान्ति प्रक्रियामा कुनै ढिलाइ नगरी सामेल हुन आग्रह गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘दुवै देशका प्रमुख अफगानिस्तानमा जारी संघर्षको समाधान सैन्य बल प्रयोग गरेर सम्भव नरहेको बरु राजनीतिक वार्ता र संवाद मार्फत समाधान खोज्न सकिने विचारमा सहमत हुन भएको छ।’
गत फेब्रुअरीमा मात्रै पनि घानीले अफगानी तालिवानसँग आफू निःशर्त पुनः वार्तामा बस्न तयार रहेको बताएका थिए।
घानीले तालिवानलाई एक राजनीतिक पार्टीको मान्यता दिने प्रस्ताव गर्दै युद्धविराम सहित कैदी रिहाइ गर्ने प्रस्ताव समेत राखेका थिए। करिब १६ वर्ष लामो संघर्ष अन्त्य गर्नका लागि गरिएको उक्त प्रस्ताव उपर तालिवानको प्रतिक्रिया आउन बाँकी नै छ।
दक्षिण एसियाको सुरक्षा चुनौती बन्दै गएको अफगानिस्तानको संघर्ष अन्त्यका लागि पाकिस्तान, अमेरिका, चीनको सहयोगमा सुरु भएको शान्ति वार्ता सन् २०१५ मा भंग भएको थियो। अफगानी तालिवान प्रमुख मुल्लाह मोहम्मद ओमार मारिएको खबर सार्वजनिक हुनासाथ तालिवानले शान्ति वार्ता भंग भएको घोषणा गरेको थियो।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले अफगानिस्तान भ्रमणका क्रममा कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाह र हिजब इ इस्लामिका प्रमुख गुलबुद्दिन हेकमत्यरलाई पनि भेटेका थिए।
दुई देशबीचको सम्बन्ध सुधारका लागि अफगानिस्तान पुगेका प्रधानमन्त्री अब्बासीले अफगानका लागि ४० हजार टन गहुँ उपहार स्वरुप दिने घोषणा गरेका थिए। साथै, अफगानिस्तानबाट पाकिस्तान सामान पठाउँदा लाग्ने कर मिनाह गर्ने घोषणा पनि विज्ञप्ति मार्फत गरिएको छ।
अफगानिस्तानले जारी गरेको विज्ञप्तिमा भने दुई देशबीच संवादका लागि नयाँ फ्रेमवर्क अनुरुप अघि बढ्ने सहमति भएको जनाइएको छ। जसलाई दुवै देशले ‘अफगानिस्तान पाकिस्तान एक्सन प्लान फर पिस एन्ड सोलिडारिटी’ भनेका छन्।
अब्बासीको अहिलेको भ्रमणको ध्येय भनेकै अफगानिस्तानसँग विश्वासको वातावरण बढाउनु थियो। अफगानीस्तानले समय–समयमा पाकिस्तानले आफगानी तालिवान र हक्कानी विद्रोही समूहलाई सघाइरहेको आरोप लगाउँदै आएको छ।
यता, पाकिस्तानले पनि अफगानीस्तानले पाकिस्तानी तालिवान विरुद्ध कदम नचालेको आरोप लगाउँदै आफ्नो बचाउ गर्ने गरेको छ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासी गत शुक्रबार अफगानिस्तान भ्रमणमा गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।