काठमाडौं– काेराेना भाइरस (कोभिड- १९) संक्रमणले महामारी रुप लिइरहेका बेला कतार सरकारले पटक-पटक गरेर सयौँ नेपालीहरुलाई ‘डिपोर्ट’ (देश निकाला) गरेको छ। नेपालीहरु डिपोर्ट पर्नुको कारण आफ्नै लापर्वाही रहेको कतारस्थित प्रत्यक्षदर्शी नेपालीहरुले बताएका छन्।
कोरोना भाइरसकाे महामारी फैलिइरहेको संवेदनशील समयमा पनि नेपालीहरु भलिबल टुर्नामेन्ट राखेर पचास जनाभन्दा बढी भेला भएर हल्ला गरेको अवस्थामा उनीहरुलाई स्थानीय प्रहरीले पक्राउ गरी नेपाल पठाएको प्रत्यक्षदर्शी दुर्गा पंगेनीले बताए। पंगेनी भन्छन्, ‘एउटै कोठामा बसेका साथीहरुसँग त ग्याप राखेर बस्नुपर्ने भनिएको छ, तर नेपालीहरुमा क्याम्पभित्र जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा डिपोर्ट हुनुपरेको हो।’
नेपालीहरुले कतार सरकारकाे आदेशको अवज्ञा गरेका कारण कतारस्थित प्रहरीले पक्राउ गरी नेपाल फिर्ता पठाएको उनको भनाइ छ। केही सञ्चारमाध्यमहरुले विना गल्ती नेपालीहरुलाई कतार सरकारले डिपोर्ट गर्याे भन्ने उल्लेख गरे पनि नजान भनेको ठाउँमा जाने र जम्मा भएर होहल्ला गर्ने नेपालीहरुलाई पक्राउ गरी डिपोर्ट गरिएको प्रत्यक्षदर्शीको भनाइ छ।
पटक-पटक सयौँ कामदार डिपोर्ट
कतारले पटक-पटक सयौँको संख्यामा नेपाली कामदारहरुलाई डिपोर्ट गरी पठाएको छ। हिडडुल गर्न प्रतिबन्ध लगाइएका स्थानमा पुगेका नेपालीहरु तथा नियम उल्लंघन गर्दै भीडभाड गरिरहेका नेपालीहरुलाई डिपोर्ट गरेको हो।
गत सोमबार कतारस्थित विभिन्न कम्पनीमा कार्यरत रहेका २ सय ५० नेपालीहरुलाई डिपोर्ट गरिएको छ। कतार सरकारले प्रतिबन्धित क्षेत्रमा जथाभावी यात्रा गरिरहेका नेपालीहरुलाई पक्राउ गरी डिपोर्ट गरेको पाइएको छ।
कतार सरकारले सनैयास्थित अत्तरिया बजारमा नजान र भीडभाड नगर्न सूचना जारी गरे पनि त्यस क्षेत्रमा पुगेका नेपालीहरु पक्राउ परेका हुन्।
क्याम्पभित्र भीड गरेका कारण १५० डिपोर्ट
स्याङ्जाका दुर्गा पंगेनी घरको बार्दलीबाट हेरिरहेका थिए। ठूलो संख्यामा नेपालीहरु भलिबल खेलिरहेका थिए। क्याम्पभित्र होहल्ला भइरहेको थियो।
सोही समयमा स्थानीय प्रहरीले नेपालीहरुलाई पक्राउ गरी डिपोर्ट गरेको हो। भीडभाडमा गई डिपोर्ट हुने डेड सयलाई बिहीबार कतारले नेपाल पठाइसकेको छ।
कतार एयरवेजको उडान नम्बर ६४४ मार्फत् उनीहरु नेपाल आइपुगेका छन्। त्यस्तै विभिन्न समयमा नियम उल्लंघन गर्नेहरुलाई पनि डिपोर्ट गरी फिर्ता गराइरहेको छ। सयौँको संख्यामा नेपालीहरु डिपोर्टमा परेका छन्।
महामारीको रुप लिएको कोरोना भाइरसकाे जोखिम न्यूनिकरणका लागि कतारले कडाइ गरिरहेको छ। दूतावासले कतारस्थित नेपालीहरुलाई भीडभाड तथा प्रतिबन्धित स्थानमा नजानसमेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।