भैरहवा– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम एक वर्षभित्रमा सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले निर्देशन दिएका छन्।
बुद्ध जन्मस्थल लुम्बिनी तथा गौतमबुद्ध विमानस्थलको निरीक्षण गर्न आएका मन्त्री अधिकारीले विमानस्थल निर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्दै एक वर्षभित्रमा जसरी पनि विमानस्थल निर्माणले पूर्णता पाउनुपर्ने बताए।
‘भैरहवा विमानस्थलको कामले गति लिनुपर्छ’, मन्त्री अधिकारीले भने, ‘यो मुलुकको प्रतिष्ठासँग जोडिएको विषय हो। यसलाई जसरी पनि २०१९ भित्र पूरा गर्नुस्। सरकारबाट आवश्यक सबै सहयोग पाउनुहुनेछ।’
उनले समयमा काम सम्पन्न गर्नका लागि औजार, जनशक्ति र कामको सिफ्ट थप गर्नुपर्ने परे थप गरेर काम गर्न निर्देशन दिए। उनले अहिले सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डबिना कुनै विमान अवतरण गर्न नसक्ने अवस्था रहेको बताउँदै उनले गम्भीरतापूर्वक काम सक्नतिर लाग्न निर्देशन दिए।
‘यो सरकार नयाँ म्यान्डेटसहित आएको सरकारको हो त्यसैले विगतमा छुट थियो होला तर अब छुट हुँदैन’, उनले भने।
एसियाली विकास बैंक (एडिबी)ले अगामी जून महिनासम्म विमानस्थलको कुल ५० प्रतिशत काम सक्नुपर्ने भनेकोमा मन्त्री अधिकारीले त्यसका लागि अब ७० दिन समय रहेको भन्दै प्रत्येक दिनको कामको योजना, मूल्यांकन र परिणामको दिन गनेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘७० दिनसम्म प्रत्येक दिनको योजना बनाएर काम गरेको मलाई चाहिन्छ’, उनले भने, ‘केही काममा केही दिन ढिलाइ भएको पाइएको छ। यो समान्य होइन । प्रत्येक दिन आयोजना पास भएको मलाई चाहिन्छ।’
विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले पछिल्लो पटक समय तालिका अनुसार काम भइरहेको बताए। उनले मन्त्री अधिकारीलाई बिफ्रिङ गर्दै आगामी एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी काम अगाडि बढाइएको बताए।
हाल विमानस्थलमा टर्मिनल भवन, धावनमार्ग, प्रशासनिक भवन, कन्ट्रोल टावर लगायतको काम भइरहेको छ। वर्षा अगाडि धावनमार्गको पिच गर्नुअघिको र टर्मिनल भवनको छाना हाल्नुअघिको काम सम्पन्न हुने आयोजना प्रमुख शर्माले बताए।
विगतमा विमानस्थलको काम सुस्त गतिमा भए पनि चिनियाँ कम्पनीले चीनबाटै कामदार ल्याएर द्रुत गतिमा काम जारी राखेको आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।