नेउमुनस्टार(जर्मनी)– स्पेनको क्याटलोनियाका अपदस्त नेता काल्र्स पुज्डमोनलाई जेलमुक्त गरिएको छ।
स्पेनमा देशद्रोह र भ्रष्टाचार गरेको आरोप लागेका पुज्डमोनलाई शुक्रबार जर्मनीका न्यायाधीशहरूले स्पेनलाई सुपुर्दगी गर्ने बारेमा निर्णय नगरेपनि उनलाई बेलमा रिहा गरिएको छ। पुज्डमोनलाई स्पेन सुपुर्दगी गर्ने–नगर्ने बारेमा भने पछि निर्णय लिइने अदालतले जनाएको छ। यसअघि उनले आफुलाई जेलमूक्त नगरिएसम्म वार्तामा नबस्ने शर्त राखेका थिए।
उता गत बुधबार स्पेनका सरकारी वकिलहरुले भने राज्यद्रोह तथा भ्रस्टाचारको मुद्दा लागेका पुज्डमोनलाई स्पेन सुपुर्दगी गर्न आग्रह गरेका थिए।
‘वार्ता गर्ने समय अब आएको छ,’ पुज्डमोनले नेउमुनस्टार जेल अगाडी सञ्चारकर्मीहरुसँग भने। तर आफू स्वतन्त्र हुनु पर्ने र ७५ हजार युरो तिर्नुपर्ने निर्णय खारेज हुनुपर्ने उनको भनाइ छ।
‘हामीले वर्षौंदेखि वार्ताका लागि आग्रह गरिरहेकै थियौं, तर हामीविरुद्ध हिंसा र देशद्रोहको आरोप लगाइयो,’ उनले भने।
‘क्याटलोनियाका राजनीतिक नेताविना स्पेनी अधिकारीहरूलाई वार्ता सुरु गर्ने विकल्प छैन,’ पुज्डमोनले थपे।
५५ वर्षीय पुज्डमोनले क्याटलोनियाका आफुसँगै पक्राउ गरिएका सबै नेताहरूलाई तत्काल रिहा गर्न पनि माग गरेका छन्। उनीहरूले स्पेनको उत्तरपूर्वी क्षेत्रलाई मड्रिडभन्दा धनी बनाउन राजनीतिक बन्दी भएर ठूलो योगदान गरेको उनको भनाइ छ।
बेल्जियमतर्फ जाने क्रममा डेनमार्कको सीमा पार गरेपछि उनलाई केही हप्ता पहिले जर्मनीमा पक्राउ गरिएको थियो।
गत वर्षको अक्टोबरमा स्पेनबाट क्याटलोनियालाई अलग हुने पक्षमा गराएको जनमतसंग्रह विवादमा परेपछि उनी बेल्जियम पुगेका थिए।
जनमतसंग्रहपछि स्पेनको केन्द्रीय सरकारले क्याटलोनिया क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो। त्यसपछि गराएको नयाँ निर्वाचनमा पनि क्याटलोनियाका स्वतन्त्रता पक्षधर दलहरूले नै झिनो अन्तरले जित हात पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।