काठमाडौं- विश्वमा बढ्दै गएको कोभिड-१९ (कोरोना संक्रमण) को जोखिममाथि सतर्कता अपनाउँदै कतारले तत्कालका लागि प्रवेश रोक लगाएसँगै लाखौँको संख्यामा नेपालीहरु प्रभावित बनेका छन्।
नेपाली कामदारको दोस्रो आकर्षक गन्तव्य मुलुक कतारले आइतबारदेखि नेपालसहित अन्य १४ मुलुकका नागरिकलाई लगाएको प्रतिबन्धले लाखौँको संख्यामा नेपाली कामदारहरु प्रभावित बनेका हुन्।
कतारले प्रवेश प्रतिबन्ध गरेसँगै कतारस्थित विभिन्न कम्पनीमा कार्यरत रहेका नेपालीहरु कोरोनासँग भन्दा पनि आफूले गरिरहेको काम गुम्ने हो कि भन्ने त्रासमा भेटिएका छन्।
यो समयमा बिदा मिल्नेहरु पनि कोरोनाको कारण बिदा सकेर गन्तव्य मुलुकमा फर्किन नपाइने हो कि भन्ने चिन्ताले बिदा नै रद्ध गरेर उतै रोकिएका छन्। भिसा अवधि सकिन लाग्दा बिदामा फर्किएर नेपालमै रोकिएकाहरु आफू पुनः कतार जान पाउने हो वा होइन भन्ने चिन्तामा भेटिएका छन्।
कोरोनाको भन्दा पनि काम गुम्ने डर
कतारको दुखानस्थित कन्स्ट्रक्सन कम्पनीमा कार्यरत तेह्रथुमका सुवास राई कतार जान थालेको ३ वर्ष भयो । यसअघि २ वर्ष कतार बसेर नेपाल आएका राई पुनः सोही कम्पनीमा फर्किएको १ वर्ष भयो। सुवास यतिबेला पुनः बिदामा आउने सोचमा थिए।
उनी भन्छन्, ‘कम्पनीसँग कुरा मिलाएर मार्च १७ मा नेपाल फर्किने सोच थियो। तर अब बिदामा फर्किएपछि फेरि कतार आउन पाइँदैन जस्तो छ बरु बिदा नै रद्द गरेँ।’
कतारस्थित आयलफिल्ड प्रोजेक्ट डेभलपमेन्ट ग्रुप कम्पनीमा जनरल सर्भिस सुपरभाइजरका रुपमा कार्यरत स्याङ्जाका दुर्गा पंगेनीलाई पनि कतारमा कोरोनाको भन्दा आफ्नै कामको चिन्ता छ।
यो समयमा बिदा पाउने भए पनि पुनः फर्किने टुंगो नभएपछि पंगेनीले पनि बिदा रद्द गरे। ‘छोरीको एसइईको समय पनि थियो। केही समय बिदामा नेपाल फर्किन मन थियो। फेरि फर्किएपछि त्यतै अड्किने हो कि भन्ने डरले मैले बिदा लिइनँ‚’ नेपाल लाइभसँगको फेसबुक संवादमा पंगेनीले सुनाए।
बिदामा फर्किएर रोकिएकालाई तनाव
दुई वर्षको करार अवधिका लागि कतार गएका कञ्चनपुरका सुधीरबहादुर साउद २२ महिनापछि नेपाल फर्किए। उनको ४५ दिनको बिदा पनि सकियो । तर साउद कतार जान पाएनन्।
संक्रमणको जोखिममाथि सतर्कता अपनाउँदै कतारले नेपालसहित अन्य १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएसँगै उनको मंगलबार राती १० बजेको उडान रोकिएको हो।
साउद कतारस्थित रिजेन्सी होटलमा ‘सेफ’ को रुपमा कार्यरत थिए। यही मार्च महिनाको २२ तारिखमा उनको भिसा अवधि पनि सकिँदैछ।
‘अब कतार कहिले खुल्ने हो, भिसा अवधि सकिएपछि खुल्यो भने कम्पनीले भिसा थपिदिने हो कि होइन‚’ उनलाई ठूलो चिन्ता छ। भिसा अवधि सकिएपछि कम्पनीमा पुग्दा उनले पाउने उपदानलगायत सेवासुविधा पनि कटौती हुन्छ।
भिसा अवधि सकिन लागेको अवस्थामा नेपाल फर्किएर रोकिएका अधिकांश श्रमिकहरुको साउदको जस्तै गुनासो छ। कतारले पुनः प्रवेश खुल्ला गरेपछि आफ्नो भिसा अवधि कसरी थपिने हो वा अब आफ्नो रोजगारी गुम्ने हो भन्ने तनावमा साउदजस्ता थुप्रै श्रमिकहरु छन्। यस्तो आपतकालीन अवस्थालाई मध्यनजर गर्दै कतारले प्रवेशमा लगाएको अस्थायी रोकका कारण उत्पन्न भएका समस्याहरुमाथि सरकारले पनि कुटनीतिक पहल गर्नुपर्ने उनीहरुले बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने कतारले लगाएको अस्थायी प्रतिबन्धबाट आएका समस्यामाथि कसरी कुटनीतिक पहल गर्ने भन्ने सम्बन्धमा कुनै आधिकारिक धारणा दिएको छैन।
‘कतारमा प्रवेश रोकले निम्तिने समस्यामाथि मन्त्रालयले तत्काल केही धारणा बनाएको छैन, यसबारे सम्बन्धित कुटनीतिक नियोगसँग पनि छलफल हुन्छ‚’ मन्त्रालयका एक अधिकारीले नेपाल लाइभसँग भने।
कतारले नेपाली प्रवेशमा प्रतिबन्ध लगाएसँगै थुप्रै नेपालीहरुको कतार उडान स्थगित भएको छ भने करीब ४० हजार भिसा स्थगित भएको म्यानपावर व्यवसायीहरुले बताएका छन्।
आपतकालीन अवस्थाका कारण स्थगित भएको उडान र भिसामा पुनः नेपाली श्रमिकहरु जान पाउने गरी कतारस्थित नेपाली दूतावाससँग छलफल भइरकेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए।
कतारले प्रवेश रोक लगाएसँगै वैदेशिक रोजगार विभागले समेत अर्को सूचना जारी नगर्दासम्मका लागि श्रम स्वीकृति स्थगित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।