काठमाडौं- इंग्लिस क्लब लिभरपुललाई च्याम्पियन्स लिग अन्तिम १६ मा हराउँदै क्वाटरफाइनल पुगेको स्पेनिस क्लब एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले बार्सिलोनाका लागि अट्याकमा लियोनल मेस्सी भएजस्तै आफूहरुको डिफेन्समा गोलकिपर जान ओबलाक रहेको प्रतिक्रिया दिएका छन्।
लिभरपुललाई पहिलो लेगमा १–० ले हराएको एथ्लेटिको मड्रिडले बुधबार राति दोस्रो लेगमा लिभरपुलकै मैदानमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो। खेलपछि गोलकिपर ओबलाकको तारिफ गर्दै प्रशिक्षक सिमोनले उनी विश्वका उत्कृष्ट गोलरक्षक भएको बताएका हुन्।
‘उनी हाम्रो टिममा निकै महत्वपूर्ण छन्। हामीसँग विश्वकै उत्कृष्ट गोलकिपर छन् भन्नेमा मलाई कुनै दुविधा छैन। जसरी गोलमा बढेर लियोनल मेस्सीले खेलमा परिवर्तन गराइदिन्छन्, उसैगरी गोल रोकेर ओबलाकले खेलमा परिवर्तन गराइरहेका हुन्छन्’ प्रशिक्षक सिमोनले भने।
खेलको ५६औँ मिनेटमा डिएगो कोस्टाको स्थानमा मैदान प्रवेश गरेका मार्कस लोरेन्टेले एथ्लेटिको मड्रिडका लागि महत्वपूर्ण सयममा दुई गोल गरेका थिए। प्रशिक्षक सिमोनले लोरेन्टेसँगै सम्पूर्ण टिमले नै निकै उत्कृष्ट रुपमा खेलेको प्रतिक्रिया दिएका छन्।
‘लोरेन्टेले निकै राम्रो गरे, टिमका बाँकी सबै खेलाडीको मेहनत पनि राम्रो थियो। क्लबको यो जितमा म निकै खुसी छु। बलियो विपक्षीविरुद्धको यो जित ऐतिहासिक हुनेछ। अन्तिमको नतिजा हेर्दा साधरण लागे पनि मैदानमा यो त्यति साधरण थिएन’ उनले भने।
लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले पनि एथ्लेटिको मड्रिडले आवश्यकभन्दा ज्यादा डिफेन्सिभ फुटबल खेलेको भन्दै आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।