काठमाडौं- गएको वर्ष च्याम्पियन्स लिग जितेको लिभरपुल यो वर्ष अन्तिम १६ बाटै बाहिरिएको छ। इंग्लिस क्लब लिभरपुललाई समग्रमा ४-२ ले पराजित गर्दै स्पेनिस क्लब एथ्लेटिको मड्रिड क्वाटरफाइनलमा पुगेको हो।
पहिलो लेग १-० ले जितेको एथ्लेटिको मड्रिडले बुधबार राति लिभरपुलकै मैदानमा भएको दोस्रो लेग ३-२ ले जित्यो। खेलको ४३औँ मिनेटमा जर्जिनियो विज्नाल्डमको गोलमा लिभरपुल बराबरमा पुगेको थियो। त्यसपछि ९० मिनेटसम्म गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो।
थप ३० मिनेटको समयमा चौँथो मिनेटमा नै रोबर्टो फर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर त्यसको तीन मिनेटपछि नै एथ्लेटिको मड्रिडका लागि मार्कस लोरेन्टेले गोल गरे। लोरेन्टेले नै थप समयको पहिलो विश्रामअघि अर्को गोल गर्दै लिभरपुललाई दबाबमा पारिदिए। आत्तिएको लिभरपुलले अन्तिम समयमा अर्को गोल खान पुग्यो। यसपटक अल्भारो मोराटाले उत्कृष्ट फिनिसिङ गरेका थिए।
खेलमा ७१ प्रतिशत समय लिभरपुलले बलमा नियन्त्रण बनाएको थियो। यस्तै लिभरपुलले गरेको ३४ प्रहारमा एथ्लेटिको मड्रिडको पोस्टमा ११ प्रहार गएको थियो। जसमा एथ्लेटिको मड्रिडका गोलकिपर जान ओबलाकले निकै राम्रो बचाउ गरे। एथ्लेटिको मड्रिडले गरेका १० प्रहारमा ६ प्रहार लिभरपुलको पोस्टमा थियो।
युरोपियन प्रतिस्पर्धामा लिभरपुल प्रशिक्षक योर्गेन क्लोप रहँदा पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो। यस्तै च्याम्पियन्स लिग अन्तिम १६ मा लिभरपुल बाहिरिएको यो सन् २००६ पछि हो। यस्तै सबै प्रतिस्पर्धामा गरेर घरेलु मैदानमा पछिल्लो ४२ खेलमा अपराजित रहेको लिभरपुल एथ्लेटिको मड्रिडसँग पराजित भएको हो।
एथ्लेटिको मड्रिड भने च्याम्पियन्स लिग नकआउटमा पहिलो लेग जितेपछि अगाडि बढेको पछिल्लो ६ पटकमा यो पाँचौँ हो। एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले पुनः एकपटक डिफेन्सिभ फुटबलमा आफू उत्कृष्ट रहेको प्रमाणित गरेका छन्।
गएको वर्ष पहिलो लेगमा पछि परेर पनि स्पेनिस टिम बार्सिलोनालाई सेमिफाइनलमा एनफिल्डमा हराएको सम्झनामा रहेका लिभरपुल समर्थक यसपटक एथ्लेटिको मड्रिडको जितले निराश भएका छन्। एनफिल्डमा ५४ हजार समर्थक उपस्थित थिए।
उता कोरोना भाइरसको संक्रमणको खतराबाट बच्न पिएसजीको खाली स्टेडियममा बोरुसिया डर्टमुन्डसँग खेल भएको थियो। जसमा पिएसजी २-० ले विजयी हुँदै पहिलो लेगको समेत गरी समग्रमा ३-२ ले क्वाटरफाइनलमा पुगेको छ। पिएसजीको जितमा नेमार र बर्नाटले गोल गरे।
मंगलबार राति इंग्लिस क्लब टोटनह्यामलाई पराजित गर्दै जर्मन क्लब लिपजिग र स्पेनिस क्बल भ्यालेन्सियालाई पराजित गर्दै इटालियन क्लब एटलान्टा क्वाटरफाइनलमा पुगिसकेका छन्।
अन्तिम १६ को दोस्रो लेग अन्तर्गत अर्को हप्ता चार खेल हुनेछन्। जसमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिड (पहिलो लेग २-१), इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लायोन (पहिलो लेग ०-१), स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली (पहिलो लेग १-१) साथै जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब चेल्सी (पहिलो लेग ३-०) खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।