काठमाडौं– भोटेकोशी बाढीमा परी बेपत्ता भएका भनिएका ३२ जिल्लाका २ हजार २९४ जनाको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ ।
प्राधिकरणले सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भएर आएका विवरणका आधारमा सूची सार्वजनिक गरेको हो । सूचीमा सबैभन्दा धेरै रसुवाका १ हजार ५८३ जना छन् ।
त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व र पश्चिम, उदयपुर, काभ्रेपलाञ्चोक, तेह्रथुम, रुकुम पूर्व, सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुलीका बेपत्ताको विवरण पनि सार्वजनिक गरिएको छ ।
प्राधिकरणले सात देशका १७१ विदेशी नागरिकको बेपत्ता सूचीसमेत सार्वजनिक गरेको छ । सूचीमा नाम समावेश भएका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न प्राधिकरणले आग्रह गरेको छ ।
स्वदेशी नागरिकको विवरण स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा तयार पारिएको प्राधिकरणले जनाएको छ । विदेशी नागरिकको हकमा भने सम्बन्धित मुलुकका नेपालस्थित नियोग वा नेपाल हेर्ने नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण समावेश गरिएको हो ।
३२ जिल्लाबाहेकका बेपत्ताको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि र विदेशी नागरिकको हकमा सम्बन्धित नियोगबाट सूची आएपछि थप सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म १ हजार ४५७ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ । बाढीमा ५ हजार २८५ जना बेपत्ता भएको विवरण पनि प्राधिकरणसँग छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।