काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको मार्चमा हुने जापान भ्रमण स्थगित भएको छ।
नेपाल-जापानबीच भएको श्रम समझदारी कार्यान्वयनका सम्बन्धमा छलफलका लागि यही मार्चमा जान लागेका मन्त्री यादवको जापान भ्रमण कार्यक्रम स्थगित भएको हो।
यही मार्चमा जापान र नेपालबीच मन्त्रीस्तरीय छलफलसँगै संयुक्त कार्यदल (जइन्ट) कमिटीको बैठक समेत बस्ने कार्यक्रम रहेको थियो। उक्त बैठकले नेपाल-जापानबीच समझदारी कार्यान्वयनको पाटो टुंगोमा पुर्याउने मन्त्रालयले जानकारी दिएको थियो।
कोरोना संक्रमणका कारण मन्त्री यादवको भ्रमण तथा छलफललगायतका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको मन्त्रायका प्रवक्ता एव सहसचिव सुमन घिमिरेले जानकारी दिए।
‘कोरोना संक्रमणका कारण मन्त्रीज्यूको भ्रमण रिसेड्युल गरिएको छ, फेरि कहिले जाने भनेर अहिले तय गरिएको छैन, भाइरस संक्रमणको अवस्था सामान्य भएपछि सबै टुंगो लाग्छ‚’ सहसचिव घिमिरेले नेपाल लाइभसँग भने।
जापानले कृषि उद्योग, निर्माण, नर्सिङ केयरलगायत विभिन्न १४ क्षेत्रमा नेपाली कामदार लैजाने गरी गत वर्षको चैत ११ गते समझदारी भएको हो।
समझदारीपछि जापानले पहिलो चरणमा नर्सिङ केयरमा कामदार लैजाने जनाएको छ। सोहीअनुसार भाषा तथा सीप परीक्षा समेत भइरहेको छ। तर कामदार कुन प्रक्रियामार्फत जापान पठाउने कहिलेदेखि पठाउने विषयको टुंगो भने लाग्न सकेको छैन। कोरोना संक्रमणका कारण यस विषयमा टुंगो लाग्न थप समय लम्बिने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।