काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफूहरु सूचिकृत हुन पाउनुपर्ने भन्दै नीजि विद्यालयका शिक्षकहरु धर्नामा उत्रिएका छन्।
सोमबार संस्थागत विद्यालय शिक्षक यूनियन (आइएसटीयु)ले बबरमहलस्थित सामाजिक सुरक्षा कोषको सचिवालयमा धर्ना गरिरहेको छ।
धर्ना सोमबार दिनभरि बस्ने संस्थागत विद्यालय शिक्षक यूनियन (आइएसटीयू) का अध्यक्ष होमकुमार थापाले बताए।
यूनियनले ज्ञापनपत्र कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीलाई बुझाइसकेको छ।
उनीहरुले आफूहरुलाई कोषमा सूचिृकत गराउनुपर्ने भन्दै १० बुँदे माग अघि सारेका छन्।
निजी विद्यालयहरुको संस्था प्याब्सन एन प्याब्सनसँग पटक पटक छलफल गर्दा पनि सरकारले अघि सारेको सामाजिक सुरक्षा कार्यक्रममा आफूहरु नसमेटिएपछि आन्दोलनमा उत्रिन बाध्य रहेको युनियनका अध्यक्ष होमकुमार थापा बताउँछन्।
यूनियनका अध्यक्ष थापा भन्छन्, ‘हामी नीजि विद्यालयका कतिपय शिक्षकहरु नियुक्ति पत्रबिना काम गर्न बाध्य छौँ। सरकारले तोकेको तलब, बिदा, बीमा सुविधा उपदानलगायत केही पाएका छैनौं।
कोषमा जाँदा सो सुविधाहरु दिनुपर्छ भनेर रोजगारदाताले आनाकानी गरिरहेका छन्।
यूनियनले देशैभरिका संस्थागत विद्यालयहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सूचीकृत गराई शिक्षक कर्मचारीको योगदान रकम जम्मा गरिनुपर्ने, सूचीकृत गराउन अटेर गर्नेलाई कारबाही हुनुपर्नेलगायत १० बुँदे माग राखेका छन्।
आफूहरुलाई तत्काल कोषमा सूचिकृत गराउन पहल नभए पुनः कडा आन्दोलन गर्ने र देशैभरिका नीजि विद्यालय बन्द गर्ने उनीहरुको माग छ।
हाल देशैभरि ८ हजार ५ सयभन्दा बढी नीजि विद्यालयहरु छन् भने त्यसमा कार्यरत शिक्षक तथा कर्मचारीको संख्या २ लाखभन्दा बढी छ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको १ वर्ष बितिसक्दा पनि थोरै संख्यामा मात्रै नीजि विद्यालयहरुले कोषमा सहभागिता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।