काठमाडौं-दक्षिण अफ्रिकी मुलक मौरिसस र नेपालबीच भएको शून्य लागतको श्रम समझदारीको कार्यान्वयनको पाटो टुंगो लगाउन मौरिससमा मन्त्रीस्तरीय वार्ता जारी छ।
बिहीबारदेखि सुरु भएको वार्ताले समझदारी कार्यान्वयको पाटोमा निस्कर्ष निकाल्ने जनाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले समकक्षीसँग वार्ता गरिरहेका छन्।
मन्त्रीस्तरीय वार्तामार्फत् नै कामदार छनोट तथा भर्ना प्रकृयालगायत विषयको टुंगो लगाइने मन्त्रालयले जनाएको छ।
गत जेठमा अन्तर्राष्टिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा नेपाल र मौरिससबीच श्रम समझदारी भएको थियो। कुन प्रकृयामार्फत् कामदार लैजाने, कुन–कुन क्षेत्रमा कति कामदार लैजाने भन्ने विषय समझदारीमा समेटिएको थिएन।
दुई देशका संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी) बैठकले यी लगायत विषयमा छलफल गरी निस्कर्ष निकाल्ने समझदारीमा उल्लेख गरिएको थियो।
समझदारीको ८ महिना बितिसक्दा पनि ज्वाइन्ट कमिटीको बैठक बस्न नसकेपछि समझदारीको पाटो टुंग्याउन मन्त्री आफैं मौरिसस गएका हुन्।
कामदार भर्ना प्रकृया, लागतलगायत विषयमा मन्त्रीस्तरीय छलफल हुने मन्त्रालयले जनाएको छ। यही छलफलबाट मौरिससले कुन–कुन क्षेत्रमा कति नेपाली कामदार लैजाने विषयमा समेत टुंगो लाग्ने छ।
आजको छलफलबाट टुंगो लाग्न नसके पुनः बैठक बस्नेछ।
के छ नेपाल–मौरिसस श्रम समझदारीमा?
अन्तर्राष्टिय मापदण्डअनुसार कामदारले पारिश्रमिकलगायत सेवासुविधा पाउने गरी समझदारी गरिएको उल्लेख गरिएको छ।
कामदार छनोट तथा भर्ना प्रकृया, आतेजाते हवाई टिकट शुल्कसमेत रोजगारदाताले नै बेहोर्ने उल्लेख छ।
कामदारबाट अवैध शुल्क लिन नपाउने गरी दुवै देशले नियमन गर्ने प्रतिबद्धता समझदारीमा छ।
स्थानीय नागरिकसरह नेपालीलाई व्यवहार गर्नुपर्ने छ। कामदार विमानस्थल पुगेको ६ घण्टाभित्र रोजगारदाताले कम्पनीमा लगिसक्नुपर्ने छ।
कामदारको स्वास्थ्य, दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने छ। कामदारले आफ्नो राहदानी (पासपोर्ट) आफैँसँग राख्न पाउने व्यवस्था छ। मौरिससँग गरिएको समझदारीमा नेपाली कामदारले उपदान (हरेक वर्ष एक महिनाको तलब बराबर) रकमसमेत पाउने छन्।
गन्तव्य मुलुकमा कामदारको मृत्यु भएमा तत्काल शव नेपाल फर्काउनुपर्ने, शव ढुवानी शुल्क रोजगारदाताले नै बेहोर्नु पर्ने व्यवस्था समझदारीमा गरिएको छ। त्यस्तै श्रमिकहरुले निःशुल्क कानुनी उपचार पाउने प्रावधान छ।
आकस्मिक अवस्थामा वा आफन्तको मृत्यु भएमा बिदा पाउने व्यवस्था गरिएको छ।
यस्ता छन् मौरिससमा नेपालीलाई अवसर
वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरु विविधीकरण गर्ने उद्धेश्यले सरकारले मौरिसससँग श्रम समझदारीको प्रकृया अगाडि बढाएको हो।
मौरिसस नेपाली कामदारका लागि सम्भावित आकर्षक गन्तव्य मुलुक मानिन्छ। मौरिससमा होटल, अतिथि सत्कार, निमार्णाधीन क्षेत्रमा ठूलो संख्यामा कामदार आवश्यक रहेको उल्लेख गरिएको छ।
मौरिससको हावापानी र धर्म–संस्कृति पनि नेपाली कामदारका लागि अनुकुल छ। कामदार छनोट तथा भर्ना प्रकृयालाई पारदर्शी, निष्पक्ष बनाइनेबारे दुवै मुलुकबीच समझदारी भइसकेको छ। सो समझदारी कार्यान्वयन भएमा नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यको बाटो खुल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।