काबुल– अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानको अशान्त क्षेत्रमा रहेको एक जाँचचौकीमा तालिवान आतंककारीको आक्रमणमा परी कम्तीमा २ सैनिकको मृत्यु भएको छ। घटनामा अन्य ५ जना घाइते भएका छन्। स्थानीय सुरक्षा अधिकारीले बुधबार सो जानकारी दिएका छन्।
सयौँको संख्यामा आएका आतंककारीहरुले मङ्गलबार राती आक्रमण गरेका त्यसपछि दोहोरो गोली हानाहान भएको प्रान्तीय प्रवक्ता दोस्त मोहमद नयाबले सिन्ह्वा समाचार समितिलाई बताएका छन्।
दोहोरो झडपको क्रममा २ सैनिकको मृत्यु हुनुको साथै अन्य ५ सैनिक घाइते भएका नयाबले जानकारी दिए।
झडपको क्रममा धेरैको संख्यामा आतंककारीहरु पनि मारिएको तथा घाइते भएका उनले दावी गरे। तर यसको यकीन संख्यामा पुष्टि हुन नसकेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।
यद्यपि तालिवानका प्रवक्ता कारी युस्फ अहमदीले स्थानीय सञ्चार माध्यमलाई मङ्गलबार राति उरुजगानको ४ ओटा सुरक्षा जाँचचौकीमा आक्रमण भएको र कैयौँ सुरक्षा अधिकारीहरु मारिएका बताएका छन्।
अफगान सुरक्षाबलले सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा पूर्णरुपमा लिएपछि अफगानिस्तानमा अफगान सुरक्षा अधिकारीहरुको हताहतीको संख्यामा वृद्धि भएको छ।
सन् २०१४ को अन्त्यमा अमेरिकी र नेटो सैनिकले अफगान युद्ध सकिएको घोषणा गर्दै त्यहाँबाट अमेरिकी र नेटो सैनिक फर्किएपछि अफगानिस्तानको सुरक्षाको भार पूरा अफगान सुरक्षा अधिकारीमा आएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।