वासिङटन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताएका छन्।
आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउँदासम्मका लागि सैनिक खटाउन लागिएको राष्ट्रपति ट्रम्पले मंगलबार बताएका हुन्।
‘हामीले हाम्रा सैनिकहरु मार्फत सीमाक्षेत्र घेर्न गइरहेका छौं,’ ह्वाइट हाउसमा ट्रम्पले संबाददाताहरुसँग भने। स्टोनिया, लात्भिया र लिथुवानियाका नेताहरुसँगको भेटपछि उनले यस्तो बताएका विभिन्न सञ्चार माध्यमहरुले समाचारमा जनाएका छन्।
‘पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउँदासम्म उनीहरुलाई त्यहिँ खटाइने छ,’ राष्ट्रपति ट्रम्पले भने, ‘यो निकै ठूलो कदम हो।’
राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति निर्वाचनको बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने एजेण्डालाई प्रमुख चुनावी एजेण्डाको रुपमा प्रचार गरेका थिए। उनले हाल अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनु पर्ने कुरालाई महत्वका साथ बेला–बेलामा उठाउने गरेपनि पर्खाल लगाउन भने सकेका छैनन्।
सीमा क्षेत्रमा पर्खाल लगाउनु पर्ने राष्ट्रपति ट्रम्पको प्रस्तावले अहिले राजनीतिक र कानूनी चुनौतीहरु झेलिरहेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।