लखनउ– भारतको उत्तर प्रदेश (युपी) स्थित मथुरामा एक महिलाले आफ्ना अपांग श्रीमान्लाई पिठ्युँमा बोकेर प्रमुख चिकित्सा अधिकृतको (सिएमओ) कार्यालयमा पुगिन्। खासमा उनी सिएमओ कार्यालयमा आफ्ना श्रीमान्को अपांगता परिचय पत्र लिन गएकी थिइन्।
जब यो दृश्य सामाजिक सञ्जाल तथा भारतीय ‘अनलाइन साइट’हरुमा छ्यापछ्याप्ती भयो तब धेरैले यस घटनाप्रति दुःख व्यक्त गर्दै युपी सरकारको कार्यशैलीमाथि व्यंग्य र आलोचना गरिरहेका छन्।
भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा ती महिलाले आफूहरुसँग ह्विलचियर र ट्राइसाइकल केही पनि नभएकाले पिठ्युँमा श्रीमान्लाई बोकेर सिएमओ कार्यालय पुगेको बताएकी थिइन्। उनले दुखेसो पोखिन्,‘श्रीमान्लाई बोकेरै धेरै सरकारी कार्यालयको चक्कर लगाइसकेँ। तर, अझै श्रीमान्को अपांगता परिचय–पत्र हात परेको छैन।’
उता युपी सरकारका एक मन्त्री भूपेन्द्र चौधरीले सो घटनालाई सभ्य दुनियाँका लागि एक दुःखद् घटना भएको टिप्पणी गरेका छन्। उनले भने, ‘यो घटनाबारे जाँच गरिनेछ। जसरी भए पनि ती महिलाको मद्दत गर्नेछु।’
केही दिनअघि मात्र पनि युपीकै बिजनौरमा यस्तै घटना बाहिर आएको थियो। बिजनौरमा ‘एससी–एसटी एक्ट’लाई लिएर भारतीय सर्वोच्च अदालतको फैसलाको विरोधमा भएको भारत बन्दको समयमा एक व्यक्तिले आफ्ना वृद्ध पितालाई काँधमा बोकेर अस्पताल लगेको तस्बिर सञ्जालभरि भाइरल भएको थियो।
सडकमा भएको प्रदर्शनका कारण एम्बुलेन्स गुड्न नसकेपछि ती व्यक्तिले आफ्ना बिरामी बाबुलाई पिठ्युँमा बाकेर १ किलोमिटरको दुरीमा रहेको अस्पताल पुर्एका थिए। तर, अस्पताल पुर्याउनुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकहरुले पुष्टि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।