सान ब्रुनो, अमेरिका- उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियास्थित युट्युबको प्रधान कार्यालयमा गएराति गोली चलेको छ। एक महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग मच्चिएको थियो। गोलीकाण्डमा परी तीन जना गम्भीर घाइते भएका छन्।
युट्युबको सो मुख्यालयमा एक बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको थियो। तर ती महिलाले प्रहरी आउनुभन्दा अगावै गोली हान्न थालेकी थिइन्।
युट्युब मुख्यालयमा करिब एक हजार ७ सय कर्मचारी कार्यरत छन्। कार्यालयभित्रै गोली चलेपछि उक्त कार्यालयका अधिकांश कर्मचारीहरुले हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किँदै गरेका दृश्य स्थानीय टेलिभिजनहरूले देखाएका थिए।
उक्त हमलामा दुई जना महिला र एक पुरुषलाई गोली लागेको छ। गोली लागेकामा ३६ वर्षीय पुरुष र ३२ वर्षकी महिलाको अवस्था गम्भीर रहेको छ। अरुलाई हमला गरेपछि बन्दुकधारी महिलाले आफैँलाई पनि गोली हानेकी थिइन्। पछि ती गोली हान्ने संन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सोही कार्यालय परिसरमा उनले आफ्नो कन्चटमा गोली हानेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।