वासिङ्टन– करिब आधा अमेरिकी नागरिकले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका छन्। अमेरिकाका मतदाताहरुमा हालै मात्र गरिएको एक अनुसन्धानमा उनीहरुले यस्तो बताएका हुन्।
राष्ट्रपतिको कार्यसम्बन्धी रसामुसेन नामक एक अध्ययनको प्रतिवेदनमा यस्तो तथ्यांक आएको छ। उक्त अनुसन्धान प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पको कार्यशैली मन पराउने नागरिक ४९ प्रतिशत रहेका छन्।
तीमध्ये पनि ३३ प्रतिशतले राष्ट्रपति ट्रम्पको कार्यशैलीप्रति पूर्ण रुपमा समर्थन रहेको बताएका छन्। त्यस्तै अन्य ३९ प्रतिशतले उनको कार्यशैलीको कडा रुपमा विरोध गरेका छन्।
यस अनुसन्धान राष्ट्रपति ट्रम्पको दैनिक कार्यशैलीको विषयमा यहाँका १ हजार ५ सय मतदातामा गरिएको थियो। तर यसअघि गतहप्ता मात्र पनि सिएनएनले गरेको यस्तै अर्को एक अध्ययनमा भने राष्ट्रपति ट्रम्पको कार्यशैली मन नपराउने व्यक्तिको संख्या ५४ प्रतिशत रहेको बताइएको थियो।
त्यस अध्ययनमा जम्मा ४२ प्रतिशत मात्र अमेरिकी मतदाताहरुले उनको कार्यशैली मन पराएको बताएका थिए। हप्ता दिनपछि आएको यस प्रतिवेदनमा भने यहाँका आधा जति जनसंख्याले उनको कार्यशैली मन पराएको जनाएका छन्।
यो अनुसन्धान हालैमात्र ३ दिन लगाएर गरिएको थियो। यस अघिको निर्वाचनमा सहभागी मतदाताहरु नै यस सर्वेक्षणमा सहभागी रहेका अनुसन्धानदाता संस्थाले जनाएको छ।
अमेरिकी राष्ट्रपतिको कार्यालयबाट पछिल्लो समयमा राष्ट्रपति ट्रम्पका सहयोगी तथा सल्लाहकारहरुको समूह एकपछि अर्कोगर्दै बाहिरिएको छ। त्यस्तै केही समयमात्र अघि उनले अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए।
यसरी अमेरिकामा पछिल्लो समयमा राष्ट्रपति ट्रम्पको कार्यशैली नै मन नपराएर कर्मचारीहरुले ह्वाइट हाउस छोडेका बताइएको थियो।
यसै समयमा उनको लोकप्रियता मापन गर्नका लागि उक्त संस्थाले सो अनुसन्धान गरेको अनुमान पनि गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।