सानजोस– कोष्टारिकाको नयाँ राष्ट्रपतिमा सत्तारुढ दलका उम्मेदवार कार्लोस अल्भाराडो विजयी भएका छन्।
सिटिजन एक्सन पार्टी (पीएसी)को तर्फबाट उम्मेदवार भएका अल्भाराडोले ६० दशमलब ७४ प्रतिशत मत प्राप्त गरेका थिए।
कोष्टारिकाको निर्वाचन आयोगले आइतबार राती अल्भाराडो निर्वाचित भएको घोषणा गरेको सञ्चार माध्यमहरूले जनाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी फाब्रिसिओ अल्भाराडोले कुल खसेको मतको ३९ दशमलब २६ प्रतिशत मत ल्याएका बताइएको छ।
प्रतिद्वन्द्वी फाब्रिसिओ नेशनल रेस्टोरेसन पार्टी (पीआरएन)को तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार थिए। उनी इसाई पक्षीय उम्मेदवार मानिन्थे। यी दुई अल्भाराडोहरूका बीचमा खास कुनै नातेदारको सम्बन्ध छैन।
नतिजा सार्वजनिक भएपछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै पराजित फाब्रिसिओले निर्वाचनको नतिजाले आफ्नो अभियानमा कुनै असर नपर्ने बताएका छन्।उनले प्रतिपक्षमा रहेरै पनि कोष्टारिकाको समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
मध्यअमेरिकी मुलुक कोष्टारिका रुढीबादी मुलुकका रूपमा चिनिन्छ। यसपटक निर्वाचन प्रचार प्रसारका बेला समलिङ्गी विवाहका बारेमा व्यापक बहस र छलफल भएको थियो भने मतदाताहरू पक्ष–विपक्षमा बाँडिएका थिए।
पराजित भएका फाब्रिसिओले समलिङ्गी विवाह आफ्नो देशको मुल्य मान्यता विपरित भएको भन्दै त्यसका विरुद्धमा उभिएका थिए।
तर राष्ट्रपतिमा निर्वाचित पुर्वमन्त्री समेत रहेका कार्लोस अल्भाराडोले भने समलिङ्गी विवाहको पक्ष लिएका थिए। फाब्रिसिओले निर्वाचनका समय कुनै विकास निर्माणको विषय नउठाइ केबल समलिङ्गी विवाहको विरोधलाई आफ्नो चुनावी एजेण्डा बनाएका थिए। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।