सिओल– दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सिओलमा आइतबार सुरु भएको छ।
उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सिओलमा यो सैन्य अभ्यास सुरु भएको हो।
अमेरिकी सेनाको पनि ठूलो संख्याको उपस्थितिमा सुरु भएको सो सैन्य अभ्यासका कारण यसै महिनामा हुन लागेको उत्तर र दक्षिण कोरियाको वार्ता प्रभावित हुने हो कि भन्ने प्रश्न जनमानसमा शंका उब्जिएको छ।
यद्यपि यस विषयमा उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन। अधिकारीहरुले आइतबार बिहान सबेरैबाट सैन्य अभ्यास सुरु भएको बताएका छन्। यस अभ्यासमा दक्षिण कोरियाका २ लाख ९० हजार सेनाको उपस्थिति रहेको छ। त्यसैगरी अमेरिकाका ११ हजार ५ सय सैनिक सो अभ्यासमा रहेका पनि बताइएको छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले यस सैनिक अभ्यासलाई सामान्य, सानो संख्याको र यी दुई देशबीचको नियमित प्रक्रिया भएको बताएको छ। यो सैन्य अभ्यास मार्च महिनामा नै गर्ने भनिएको थियो। तर शीतकालीन ओलम्पिकका कारण ढिला गरी आइतबारबाट मात्रै सुरु भएको अधिकारीहरुले जनाएका छन्।
अध्यासमा अत्याधुनिक हातहतियारका साथै सैन्य कलाहरुको पनि प्रदर्शन गरिने बताइएको छ। यस बारेमा दक्षिण कोरियाले थप जानकारी भने केही दिएको छैन।
हालैका दिनहरुमा उत्तर कोरियाले आणविक अस्त्र उत्पादन र परीक्षणको काम बन्द गरेको छ। उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग पनि शान्ति वार्ता गर्ने पहल थालेको छ।
यसैका लागि गत बुधबारमात्र उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणबाट फर्किएका थिए। उनले अणुअस्त्र उत्पादन कार्यक्रम नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वार्ता गर्ने बताएका छन्।
यसैकारण संयुक्तराज्य अमेरिका पनि उत्तर कोरियासँग वार्ताका लागि सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्ने विषयमा स्पष्ट गरिसकेका छन्।
विकसित घटनाक्रमअनुसार उत्तर र दक्षिण कोरियाबीच यही अप्रिलको अन्त्यतिर र उत्तर कोरिया र अमेरिकाबीच आगामी मे महिनामा वार्ता हुने बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।